काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब खुला रूपमा “वैकल्पिक शक्ति एकता अभियान”मा उत्रिएको छ। पुराना दलहरूलाई काउन्टर गर्न र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्न खोजिरहेको रास्वपाको प्रमुख राजनीतिक लक्ष्य अहिले एकै छ — सभापति रवि लामिछानेलाई जेलमुक्त गराएर प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढाउने।
शुक्रबार काठमाडौंमा आयोजित वैकल्पिक शक्तिहरूको संयुक्त संवादमा रास्वपाले जेनजी आन्दोलनका प्रतिनिधि, स्वतन्त्र युवादलका अगुवा, र हालै दल दर्ता गराउन खोजिरहेका समूहहरूलाई एउटै मञ्चमा ल्यायो। कार्यक्रमको मूल सन्देश स्पष्ट थियो — पुराना दलहरूको संरचना तोडेर नयाँ राजनीतिक मोर्चा बनाउने र त्यसको नेतृत्व रास्वपाबाट गर्नुपर्ने।
वाग्लेको संयोजनमा वैकल्पिक शक्ति एकताको अभियान
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले उच्चस्तरीय राजनीतिक संवाद संयोजकका रूपमा वैकल्पिक शक्तिहरूलाई एउटै दिशामा तान्ने अभियान अघि बढाएका छन्। उनले समाजका प्रभावशाली व्यक्तिहरूसँग निरन्तर भेटघाट गर्दै आएका छन् र त्यसको विस्तारस्वरूप शुक्रबारको सामूहिक भेला आयोजना गरिएको हो।
भेलामा उनले भने, “हामीले पछिल्ला आन्दोलनका उपलब्धिलाई जोगाउँदै नयाँ पुस्ताको जिम्मेवारी बोक्नुपर्छ। आँधीबेहरीमा पुराना उपलब्धि हराउने होइन, त्यसलाई सुधारका साथ अगाडि लैजानुपर्छ।” वाग्लेको भनाइमा, वैकल्पिक राजनीति अब भावनाको विषय होइन, संस्थागत संरचना र साझा रणनीतिको सवाल हो।
‘सबै मिलेर मात्र पुराना दललाई हराउन सकिन्छ’ — बाबुराम भट्टराई
कार्यक्रममा आमन्त्रण पाएका नेसपाबाट राजिनामा दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपालाई सल्लाह दिए — “कांग्रेस र एमालेजस्ता दलको जरा गहिरो छ। नयाँ शक्ति टुक्रिँदै गए उनीहरूलाई हराउन सकिँदैन। रास्वपाले सबै वैकल्पिक शक्तिलाई एकतामा बाँध्नुपर्छ।” भट्टराईले आगामी निर्वाचनलाई देशको भविष्यसँग जोड्दै चेतावनी दिए, “निर्वाचन नभए देश अँध्यारो सुरुङमा फस्छ। त्यसैले नयाँ शक्तिहरूले एउटै मोर्चा बनाउन जरुरी छ।”
रेशम चौधरीदेखि जेनजी नेतासम्म — फरक धार, साझा लक्ष्य
थारु आन्दोलनका नेता रेशम चौधरीले आफ्नो प्रस्तावित नयाँ दल “नागरिक उन्मुक्ति (नेपाल)”सहित वैकल्पिक शक्तिहरूबीच निर्वाचन सहकार्य गर्नुपर्ने बताए। उनले भने, “जहाँ बलियो शक्ति छ, त्यहाँ स्थान खाली गर्नुपर्छ। तर, म चुनावमा नअउठे त्यो चुनाव नै हुँदैन।”
त्यस्तै, प्राध्यापक निर्मलमणि अधिकारीले रास्वपालाई वैचारिक रूपमा स्पष्ट हुन सुझाउँदै भने, “यदि साँच्चै नयाँ काम गर्न खोजिएको हो भने ‘समाजवाद’को शब्दावलीमै अड्किनु हुँदैन।” जेनजीका अगुवा युजन राजभण्डारीले रास्वपामाथि प्रश्न उठाउँदै भने, “नयाँ भन्नु र नयाँ बन्नु फरक कुरा हो। पार्टी भित्रै पुराना प्रवृत्ति दोहोरिए भने वैकल्पिक राजनीति सफल हुँदैन।”
जेनजी पक्षको चेतावनी : आन्दोलन संस्थागत नभए चुनाव रोकिन सक्छ
जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादव र घाइते योगेन्द्र भण्डारीले आन्दोलनलाई संस्थागत नगरी कुनै चुनाव मान्य नहुने चेतावनी दिए। भण्डारीले भने, “जेनजी आन्दोलनको मान्यता बिना चुनाव हुन्छ भने त्यो जनमतको अपमान हुन्छ।” त्यस्तै, साझा विवेकशीलका प्रकाश परियारले आन्दोलनलाई “आर्थिक क्रान्ति”को रूप दिए भने डा. शरदसिंह यादवले मधेश र युवाको प्रतिनिधित्वबारे प्रश्न उठाए।
रास्वपाको लक्ष्य : रवि नेतृत्वको वैकल्पिक मोर्चा
भेला समापन गर्दै वाग्लेले सबै वैकल्पिक शक्ति र नयाँ पुस्तालाई साझा लक्ष्यमा बाँध्नुपर्नेमा जोड दिए। उनका अनुसार, “सहकार्य र एकता मात्रै होइन, देशको राजनीतिक विकल्प निर्माण गर्ने जिम्मेवारी हाम्रो पुस्ताको हो।” रास्वपाले हाल बालेन साह र कुलमान घिसिङ पक्षसँग पनि सहकार्यका सम्भावना खोजिरहेको छ। पार्टी स्रोतका अनुसार, यी सबै प्रयासहरूको दीर्घकालीन उद्देश्य भनेको “रवि लामिछानेलाई जेलमुक्त गराएर वैकल्पिक मोर्चाको नेतृत्व दिलाउने” हो।
रास्वपा अहिले नेपाली राजनीतिमा नयाँ समीकरणको केन्द्रबिन्दु बनेको छ। पार्टीले जेनजी, बालेन, कुलमान र अन्य स्वतन्त्र समूहहरूसँग सहकार्य गर्दै पुराना दलहरूको विकल्प निर्माण गर्ने रणनीति अघि बढाएको छ। तर, रवि लामिछानेको मुद्दा टुंगोमा नपुगुन्जेल र वैकल्पिक शक्तिहरूबीच विश्वासको वातावरण नबन्नुन्जेल “रविलाई प्रधानमन्त्री बनाउने सपना” कति यथार्थमा बदलिन्छ भन्ने भने समयले नै बताउनेछ।
अवसरवादको दलदलमा डा. बाबुराम भट्टराईः सहकारी ठगीमा थुनामा रहेका ‘रविको रिहाइ अभियान’मा व्यस्त !
रास्वपाको राजनीतिक संवादमा बाबुराम भट्टराई र रेशम चौधरी पनि सहभागी




