राजनीति

नेकपाको चरणबद्ध जनसंघर्ष घोषणा, कात्तिक २० मा काठमाडौंमा बृहत् जनसभा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक २० गतेसम्मका लागि चरणबद्ध जनसंघर्षका कार्यक्रम घोषणा गरेको छ। असोज २५ देखि ३० गतेसम्म कपिलवस्तुमा सम्पन्न केन्द्रीय समितिको विशेष बैठकले विभिन्न आन्दोलनका कार्यक्रम तय गरेको हो।

बैठकका निर्णय अनुसार पार्टीले कात्तिक १३ गतेसम्म देशभर भित्ते लेखन अभियान चलाउने छ। त्यसपछि कात्तिक १५ गते मसाल जुलुस, कात्तिक १७ गते विरोध प्रदर्शन र कोणसभा, र अन्तिममा कात्तिक २० गते काठमाडौंमा बृहत् जनसभा आयोजना गरिने जनाएको छ।

पार्टीले आफ्ना नाराहरूमा सर्वपक्षीय अन्तरिम सरकार गठन, भ्रष्टाचारको निष्पक्ष छानबिन, उच्चस्तरीय छानबिन आयोग र विशेष न्यायालय गठन, अग्राधिकारसहितको समाजवाद निर्माण, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज, युवाहरूका लागि रोजगारीको ग्यारेन्टी लगायतका माग राखेको छ।

महासचिव विप्लवले सामाजिक सञ्जालमार्फत जनसभामा सहभागी हुन स्वाधीनता र समाजवादका पक्षधरहरूलाई आह्वान गर्दै भनेका छन्, “नेपाललाई हामी आफैंले फेर्ने हो। जब भ्रष्टाचार, तस्करी र दलाल प्रवृत्ति अन्त्य हुन्छ, तब देशले आत्मसम्मानसहित प्रगति गर्छ।”

नेकपाले हालको राजनीतिक अवस्था परिवर्तनका लागि संघर्ष आवश्यक भएको बताउँदै जनताको सहभागिता बिना देशको स्वाधीनता र उन्नति सम्भव नभएको निष्कर्ष निकालेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *