राजनीति

जेनजी आन्दोलनपछि प्रश्नको घरामा परेका मेयर बालेनको कांग्रेस र एमालेमाथि आरोप

काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीतिक र सामाजिक तापक्रम अझै चिसिएको छैन। आन्दोलनको धुवाँ त क्रमशः हराउँदैछ, तर त्यसले उठाएको प्रश्न अझ गाढा हुँदै गइरहेका छन् — विशेषतः काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) का भूमिकाबारे।

राजधानीमा सिंहदरबारदेखि निजी घर र सरकारी कार्यालयसम्म आगो सल्किँदै गर्दा, मेयरको आवाज फेसबुकबाट आयो, मैदानबाट होइन। त्यसपछि बालेनले आरोप लगाए — “कांग्रेस र एमालेले एक–अर्काको घर जलाएर दोष आफ्नै बालबच्चालाई दिए।” उनले आज सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् । तर विश्लेषकहरू भन्छन् — बालेनको यो आरोप केवल राजनीतिक ध्यान मोड्ने प्रयास हो, जब उनी स्वयं जिम्मेवारीको कठघरामा उभिएका छन्।

फेसबुकमा ‘फायरपोस्ट’, सहरमा वास्तविक आगो

भदौ २३ र २४ को आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, र सरकारी संरचनाहरू जले।
त्यो समयमा बालेनको कार्यक्षेत्रभित्रका दर्जनौं स्थानमा क्षति पुग्यो, तर नगरप्रहरी निष्क्रिय, दमकल ढिलो, र मेयर मौन।

यही कारण, अब बालेनमाथि प्रश्न उठेको छ — सामाजिक सञ्जालमा सक्रिय, तर वास्तविक संकटमा निष्क्रिय?
“बालेनले लोकप्रियता र नेतृत्वबीचको दूरी बुझ्न सकेनन्। फेसबुकमा उनले व्यङ्ग्य चलाए, तर भूमिकामा उनी अनुपस्थित रहे।”

‘तुइनका नेता’, ‘लुसिफरको जवाफ’ र दायित्वको ओझो

बालेनले आफ्नै शैलीमा पुराना दलमाथि व्यङ्ग्य गरे — “तुइन र काठको पूल बनाउने नेताहरू यो देश विदेशीले बिगार्‍यो भन्छन्।” “भिसा पाउन तिमीहरूको घर धाउनु पर्छ, अरूलाई एजेन्ट भन्छौ।”

यस्ता व्यङ्ग्यले उनको विद्रोही छवि बलियो बनायो, तर नेतृत्वको जिम्मेवारी कमजोर पार्‍यो।
राजनीतिक विश्लेषकहरूका अनुसार, बालेनले क्रान्तिकारी भाषालाई प्रशासनिक भूमिकासँग मिलाउन सकेनन्। उनी सधैं ‘स्वतन्त्र’को आवरणमा रहे, तर संकटमा नीतिगत स्पष्टता देखाउन सकेनन्।

नेविसंघको चेतावनीः “लोकप्रियता कानूनी प्रतिरक्षा होइन”

जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भइसकेको छ।तर जिम्मेवारीबारे स्पष्टता अझै छैन।
यही सन्दर्भमा कांग्रेस निकट नेविसंघले कडा माग राखेको छ —“सिंहदरबार जलाउनुपर्छ भन्ने अभिव्यक्ति दिने व्यक्ति पनि कानूनी छानबिनको दायरामा आउनुपर्छ।”

संघका अध्यक्ष दुजाङ शेर्पा भन्छन्, “पूर्वप्रधानमन्त्रीदेखि मेयर बालेनसम्म सबैलाई छानबिन गर्नुपर्छ। पद वा लोकप्रियताले निर्दोष सावित गर्दैन।” यो माग केवल कानूनी होइन, राजनीतिक सन्देश पनि हो। कांग्रेस निकट संगठनले बालेनको ‘स्वतन्त्र छवि’मा नै प्रश्न उठाउँदै, न्याय र प्रतिस्पर्धा दुबै मोर्चामा चुनौती दिएको छ।

विश्लेषणः मौनता कि राजनीतिक गणना?

आन्दोलनको दौरान बालेनले ‘सिंहदरबारमा आगो लगाउने’ संकेत गरेका थिए। तर जब आगो साँच्चै सल्कियो, उनी मौन बसे। समीक्षकहरू भन्छन् — यो मौनता भय होइन, राजनीतिक हिसाब–किताब हो। उनी प्रत्यक्ष भिडन्तमा नजाने, तर असन्तुष्ट वर्गसँग भावनात्मक सम्पर्क कायम गर्ने रणनीतिमा थिए। त्यो रणनीति लोकप्रियता त ल्यायो, तर प्रशासनिक उत्तरदायित्व गुमायो। नेविसंघको ताजा मागपछि नयाँ बहस सुरु भएको छ —के बालेनमाथिको प्रश्न न्यायको खोजी हो, वा राजनीतिक प्रतिशोध?समीक्षकहरू भन्छन्, यो विवादले आगामी चुनावमा ‘स्वतन्त्र बनाम दलगत’ ध्रुवीकरणलाई पुनः जागृत गर्छ। कांग्रेस–एमाले दुबै दलले अब बालेनको लोकप्रियताको “राजनीतिक खतरा” देख्न थालेका छन्। तर, नागरिक दृष्टिकोणमा प्रश्न स्पष्ट छ —“जब राजधानी जलेको थियो, मेयर कहाँ थिए?”

नेतृत्व मौन हुँदा जिम्मेवारी जल्छ

बालेन शाहले आफ्ना आलोचकहरूलाई व्यङ्ग्य गरेर चुप गराउन सक्लान्, तर आगो निभाउने जिम्मेवारी उनले आफूबाट पन्छाउन सक्दैनन्।फेसबुकका तीखा शब्दहरूले राजनीतिक ताप त बढाउँछन्, तर जनताको विश्वास ठण्डा पार्न सक्दैनन्। “जिम्मेवारीको अभावमा लोकप्रियता केवल धुवाँ हो — आगो होइन।”

 

बालेनको आरोपः “कांग्रेस–एमालेले एक–अर्काको घर जलाए, लाज लाग्दैन?”

 काठमाडौं महानगरका मेयर बालेन शाहले जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस र एमालेले एक–अर्काको घर जलाएको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेताहरूलाई नै देशमा हिंसा फैलाएको आरोप लगाउँदै लेखेका छन्, “आन्दोलनमा एमालेले कांग्रेसको, कांग्रेसले एमालेको घर जलाउँछ, अनि दोष आफ्नै बालबच्चालाई दिन्छौ।” बालेनले नेताहरूको दोहोरो चरित्रमाथि व्यंग्य गर्दै थपे, “तुइन र काठको पूल बनाउने नेताहरू भन्छन्, यो देश विदेशीले बिगार्‍यो। भिसा पाउन तिमीहरूको घर धाउनु पर्छ, अरूलाई एजेन्ट भन्छौ। चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ, लाज लाग्दैन?” उनको यो वक्तव्यले सामाजिक सञ्जालमा राजनीतिक बहस पुनः चर्किएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *