दसैंपछिको दोस्रो ठूलो चाड तिहार पाँच दिनसम्म हर्षोल्लासपूर्वक मनाइन्छ। पौराणिक ग्रन्थ अनुसार यसलाई यमपञ्चक पनि भनिन्छ। कार्तिक कृष्ण त्रयोदशीको दिन सुरु हुने यो पर्व भाइटीकासम्म चल्छ। धार्मिक कथा अनुसार मृत्युका देवता यमराज आफ्नो बहिनी यमुनाकहाँ गएर पाँच दिन बसेका र अन्तिम दिन बहिनीले टीका लगाइदिएकी थिइन्। यही कथा तिहारको मूल मर्म हो, जसले दाजुभाइ–दिदीबहिनी बीचको स्नेह र पारिवारिक मेलमिलापलाई उजागर गर्छ।
तिहार प्रकृति र जीवनसँग गहिरो रूपमा जोडिएको छ। पाँच दिनको क्रममा काग, कुकुर, गाई, गोवर्धन र बलिराजको पूजा गरिन्छ। झिलिमिली बत्ती, फूलफूल, मिठाई र देउसी–भैलोले सजिएको घर–आँगनले मात्र रमाइलोपन ल्याउँदैन, प्रकृतिप्रति सम्मान र जीवनको पूर्ण आयुको कामना पनि दर्शाउँछ। धन्वन्तरीको प्रादुर्भाव सम्झँदै त्रयोदशीमा धनतेरस मनाइन्छ, जसले स्वास्थ्य र समृद्धिको प्रतीकको रूपमा पर्वको महत्व बढाउँछ।
तिहारको प्रत्येक दिनको पूजा र क्रियाकलापले सामाजिक, धार्मिक र पारिवारिक मूल्यलाई बलियो बनाउँछ। भाइटीकामा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, सुख, स्वास्थ्य र समृद्धिको कामना गर्दै निधारमा टीका लगाउने, उपहार साटासाट गर्ने प्रचलन यस पर्वलाई अझ विशेष बनाउँछ।
गत भदौ २३ र २४ गते देशमा भएको जेनजी आन्दोलनले देश तथा नागरिकहरुलाई गहिरो दुःखमा पार्याे यो । ७६ जनाको मृत्यु भयो । केही घाइतेहरु अझै विभिन्न अस्पतालहरुमा उपचारत छन् । देशको ऐतिहासिक सिंहदरबार,संसद भवन, न्याय सम्पादनको मुख्य थलो सर्वोच्च अदालत लगायत देशका विभिन्न अदालतहरु तोडफोड, राजनीतिक दलका शीर्ष नेताहरुको घर तथा पार्टी कार्यहरु तोडफोड, आगजनि, जनताको सुरक्षामा खटिएका प्रहरीहरुमाथि अमानव्य व्यवहार,प्रहरी कार्यालयहरु तोडफोड,कुटपिट,प्रहरीका हातहतियार लुटपाट लगायतका अर्मायादित गतिविधिले मानवताविहीन गतिविधि भएको सन्देश विश्वसामु गयो । आजको चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पनि तिहारले मेलमिलाप, सहकार्य र शान्तिपूर्ण वातावरण निर्माणको सन्देश दिन्छ। यस पर्वको उज्यालो र भाईचारा हामी सबैलाई सम्झाउँछ कि लोकतान्त्रिक मूल्य, सामाजिक सौहार्द र राष्ट्रिय एकता कायम राख्न सबैको साझा प्रयास आवश्यक छ।
जेनजी आन्दोलनले शुशिला कार्की नेतृत्वको सरकार बनायाे । सो सरकारमाथि समेत गैरकानुनी प्रश्न चिह्न खडा हुँदै आएको छ । देशमा पार्दर्शिता, भ्रष्ट्राचारविरोधी नारा लगाइए पनि अहिले जेनजीको नाम्मा आन्दोलन गर्नेमाथि नै नैतिकताको प्रश्न चिह्न खडा हुन थालेका छन् । सो आन्दोलनका क्रममा आन्दोलनकारीहरुले सुरक्षा निकायका हातहतियार लुटपाट गरेका छन् ,अझै लगभग छ हजारमाथि हातहतियार फिर्ता हुन बाँकी छन् । यता अर्का तिर पुराना राजनैतिक दलहरुले देश जेनजीको नाममा असुरक्षित रहेको भन्दै संसद पुर्नस्थापनाको माग गरिरहेका छन् । नागरिकहरुले पनि जेनजीको विध्वंशात्मक आन्दोल र पछिल्ला गतिविधिका कारण देशलाई शान्ति सुरक्षा, राष्ट्रिय एकताका साथै लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुकाे विकल्प छैन् । देशको राष्ट्रिय हित ,व्यक्तिगत तथा सार्वजनिक सम्पतिको संरक्षण तथा नागरिकको जिउ धनको रक्षाका लागि सरकार पूर्णरुपमा जिम्मेवारी बन्नुपर्छ । सुरक्षाको अभाव सरकारको गैरजिम्मेवारी र राजनैतिक अस्थिरताका कारण देशमा कुनै पनि समयमा अब अप्रिय घटना नघटोस् । सरकारले सो विषय ध्यानमा राखेर अघि बढ्न सबै निकायलाई आग्रह गरिरहेको छ ।
विश्वसामु गौतमबुद्धको देश,शान्तिको देशका रुपमा चित्रण भइरेको बेला सम्पूर्ण नागरिहरुले मानवताको भावन राखी सबै नेपालीहरुलाई एउटै मालामा उन्ने बाटोमा सबैको ध्यान जान आवश्यक छ । देशका हरेका नागरिकहरुले हत्या,हिंशा,अमानवीय व्यबहार,क्रोध र द्वन्द्वलाई त्यागेर सयपत्री फूल फुले झै सम्पूर्ण नेपालीहरुको मुहारमा मुस्कान छर्दै एकताको माला गाँस्नु अपरिहार्य छ ।



