काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक परिस्थितिबारे तीखा टिप्पणी गर्दै, आफूले सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस नगरेको दाबीसँगै वर्तमान सरकारलाई “असंवैधानिक” भनेका छन्। आइतबार राजधानीमा सम्पादकहरूसँगको लामो संवादमा ओलीको भनाइले स्पष्ट सन्देश दिएको छ — जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सत्ता र पुरानो शक्तिबीचको संघर्ष अझ टुङ्गोमा पुगेको छैन।
ओलीले राष्ट्रपति समक्ष पठाइएको सिफारिसमा सुशीला कार्कीको नाम नरहेको स्पष्ट पारे। उनका अनुसार, आफूले पठाएको पत्रमा केवल संवैधानिक बाटोबाट निकास खोज्ने आग्रह गरिएको थियो। उनका शब्दमा, “संविधान र लोकतान्त्रिक प्रणालीभित्रै समाधान खोज्न राष्ट्रपतिलाई सिफारिस गरेको हुँ। सुशीला कार्की भन्ने कुरा मेरो पत्रमा छैन।” तर, यही विषयमा सत्तारूढ गठबन्धनका नेताहरूले कार्कीको नाम ओलीकै सुझावमा आएको दाबी गर्दै आएका छन्। यसले राजनीतिक दाबी र दस्तावेजबीचको विश्वसनीयता प्रश्नमा पारेको छ।
ओलीले अन्तरिम सरकारलाई असंवैधानिक ठहर गर्दै यसको मुख्य उद्देश्य सत्ता कब्जा गर्नु र “चुनाव टार्नु” रहेको आरोप लगाए। उनले भने, “संवैधानिक बाटो हुँदाहुँदै सरकार गैरसंवैधानिक रूपमा बनाइयो। यो सरकार जनादेशबाट होइन, षड्यन्त्रबाट आएको हो।” उनका अनुसार, संसद् पुनर्स्थापनाको विकल्पलाई नजरअन्दाज गर्दै अस्थायी सरकार बनाइनु लोकतान्त्रिक परिपाटीको अपमान हो। ओलीले जेन–जी आन्दोलनका तीन चरण भएको व्याख्या गरे —पहिलो, शान्तिपूर्ण मागहरू (सुशासन, पारदर्शिता, स्वतन्त्र अभिव्यक्ति) दोस्रो, राजनीतिक घुसपैठ र अराजक तत्वहरूको प्रवेश,तेस्रो, राज्य र आन्दोलनबीचको हिंस्रक टकराव। उनका अनुसार, “जेन–जीहरू आन्दोलनका वास्तविक अनुहार थिए, तर पछि केही समूहले उनीहरूलाई आतंकित बनाए।”
आत्मरक्षा र पारदर्शिताको दाबी
सम्पादकहरूसँगको संवादमा ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न तयार रहेको बताएका छन्। “मेरो खरानीको कणकण हिसाब गर्नुस्, त्यसबाहेक केही छैन मसँग,” भन्दै उनले आफू भ्रष्टाचारविरुद्ध रहेको दोहोर्याए।
‘नेपोबेबी’ विवाद र राजनीतिक पितृत्व
सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’ (नातावाद) बहसमा ओलीले असहमति जनाउँदै यसलाई युवामाथिको मानसिक आक्रमण भने। उनका अनुसार, “छोराछोरीलाई माया गर्नु अपराध होइन, यसलाई नकारात्मक रूपमा चित्रण गर्नु गलत हो।” तर यस्ता टिप्पणीले ओलीको पुरानो शैली — आलोचना टार्दै भावनात्मक भाषणमार्फत राजनीतिक नैतिकता पुनः पर्खालमा चढाउने प्रयास —लाई पुनः देखाएको विश्लेषकहरूको मत छ।
संवाद कि प्रदर्शन ?
कार्यक्रम आफैंमा पनि प्रतीकात्मक थियो। निर्धारित समयभन्दा ढिलो पुगेका ओलीले सम्पादकहरूसँग संवादभन्दा बढी राजनीतिक प्रस्तुति गरे। धेरै सम्पादक बीचमा नै कार्यक्रम छाडेर हिँडे। संवादको स्वरूप ‘भाषणमञ्च’ जस्तो बनेको थियो। ओली सुन्न र बोल्न चाहने नेता हुन्।” ओलीको पछिल्लो वक्तव्यले दुई कुरा प्रष्ट गर्छ — पहिलो, उनले आफ्नो राजनीतिक ‘कमब्याक’ अभियान थालिसकेका छन् ,दोस्रो, जेन–जी आन्दोलनले ल्याएको राजनीतिक संक्रमण अझै स्थिर भएको छैन। पुरानो नेतृत्व नै नयाँ परिस्थितिको व्याख्या गर्दै सत्ता पुनः प्रवेश खोजिरहेको छ ।




