राजनीति

आफूँलाई निर्दोष सावित गर्न महराको इन्कारी बयान : ‘सुन प्रकरणमा मेरो नाम नजोडियोस्, कुनै संलग्नता छैन’

काठमाडौं । विमानस्थलमा विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महराले अदालतमा आफू निर्दोष रहेको दाबी गरेका छन्।जिल्ला अदालत काठमाडौंमा दर्ता अभियोजनमा महराले सुन तस्करीमा आफूको न त कुनै भूमिका रहेको, न त लगानी नै भएको जिकिर गरेका हुन्।

महराका अनुसार चिनियाँ नागरिक दाओजिन वाङसँग आफ्नो परिचय सञ्चारमन्त्री रहेका बेला भएको हो। उनले भने, “दाओजिन वाङ फलफूल लिएर घरमा आएको थियो। त्यसपछि खास सम्पर्क पनि रहेन।” उनले थपे, “भेपभित्र लुकाएर ल्याइएको सुनमा मेरो कुनै लगानी छैन, र मैले परिवारका सदस्यलाई पनि कुनै राजनीतिक संरक्षण दिएको छैन।”

अभियोगपत्रअनुसार, महरामाथि सुन तस्करी प्रकरणमा भन्सार अधिकारीलाई दबाब दिएको आरोप छ। तर उनले भने, “मैले प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई ‘मेरो छोरा आउँछ, हेरीदिनु’ भनेर भनेको होइन। राजनीतिक व्यक्तित्वका कारण धेरै कुरामा मेरो नाम जोडिन्छ, सबै सम्झन पनि गाह्रो हुन्छ।” महराविरुद्ध रु. ८ करोड ५५ लाखभन्दा बढी बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ।

घटनाको पृष्ठभूमिः
सन् २०२२ डिसेम्बर २५ (२०७९ पुस १०) मा फ्लाई दुबईको उडान एफजेट ०५८७ बाट आएका चिनियाँ नागरिक लि हानसङले ल्याएका दुई सुटकेसमा विद्युतीय चुरोट भेटिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो। पछि ती भेपमा सुन लुकाइएको शंका भएपछि २०८० वैशाख २६ मा सीआईबीले अनुसन्धान थालेको थियो।

यस प्रकरणमा विभिन्न व्यापारी, भन्सार कर्मचारी र राजनीतिक व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान जारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *