काठमाडौं । नेकपा (एमाले)ले जेनजी आन्दोलनपछि पहिलोपटक सचिवालय बैठक सुरु गरेको छ। आइतबार अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुन्डुस्थित निवासमा बैठक बसिरहेको हो।बैठकमा हालैका राजनीतिक घटनाक्रमको मूल्यांकन, जेनजी आन्दोलनको प्रभाव, र पार्टीको भावी रणनीतिबारे विस्तृत छलफल भइरहेको एमाले नेताहरूले जनाएका छन्।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने आवाज उठाउँदै आएका छन्। सचिवालय बैठकमा सोही एजेण्डा प्रमुख रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।
जेनजी आन्दोलनले उत्पन्न गरेको राजनीतिक संवेदनशीलतामा एमालेको भूमिकाबारे प्रश्न उठिरहेका बेला बसेको यो बैठकलाई पार्टीभित्र शक्ति सन्तुलन र भविष्यको मार्गचित्र तय गर्ने महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ।




