राजनीति

देउवानिवासमा भेटिएको पैसाबारे पूर्णबहादुरको प्रतिक्रिया : ‘विज्ञप्तिबाहेक अन्य कुरा सत्य होइन’

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हालै जेन–जी आन्दोलनको क्रममा देउवानिवासमा पैसा भेटिएको दाबीबारे पार्टीको आधिकारिक धारणा स्पष्ट पारेका छन्। बिहीबार गृहजिल्ला सुर्खेत पुगेका खड्काले देउवाको निजी सचिवालयले जारी गरेको विज्ञप्तिबाहेक अन्य प्रचारमा सत्यता नरहेको बताएका हुन्।

“सभापतिज्यूको निजी सचिवालयबाट सात दिनअघि आधिकारिक विज्ञप्ति प्रकाशित भइसकेको छ। अहिलेको वास्तविकता त्यही हो। त्यसबाहेक कुनै पृथक् धारणा पार्टीले बनाएको छैन,” खड्काले स्पष्ट पारे। उनका अनुसार, आवश्यक परे सचिवालयले थप तथ्य सार्वजनिक गर्नेछ। खड्काले देउवानिवासमा पैसा भेटिएको समाचारलाई “एआईबाट निर्मित सामग्री” को संज्ञा दिँदै यसमा सत्यता नरहेको जिकिर गरे।

यस्तै, कांग्रेसभित्र पुस्तान्तरण र सुधारको मुद्दा चर्किँदै गएको सन्दर्भमा उनले आफूले देशभर पार्टी पुनर्गठनको विषय उठाइसकेको पनि बताए। संविधान संशोधनको मुद्दा समयमै अघि बढाउन नसकेको स्वीकारोक्ति गर्दै खड्काले भने, “११ महिनाअघि कांग्रेस–एमालेको सरकार हुँदा संविधान संशोधनका लागि कार्यदल बनाउनेमा हामी चुकेँ।”

उनले सातबुँदे सहमतिको आधारमा बनेको सरकारका प्रतिबद्धता पूरा नभएको विषयमा दुवै दल आत्मसमीक्षामा रहेको बताए। साथै, वर्तमान राजनीतिक गतिरोधका बीच पनि आगामी निर्वाचनमा कांग्रेस सहभागी हुने विषयमा कुनै दुईमत नरहेको उनको भनाइ थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *