राजनीति

ललितपुरतर्फ अस्थायी बसाइँ, देउवा दम्पती आज डिस्चार्ज हुँदै

काठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्। जेनजी आन्दोलन’ का क्रममा प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका देउवा दम्पतीको स्वास्थ्य अवस्था सामान्य बनेपछि चिकित्सकहरूले डिस्चार्ज गर्ने निर्णय गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जनाए।

डिस्चार्जपछि उनीहरू अस्थायी रूपमा ललितपुरमा बस्ने तयारीमा छन्। “सानेपा वा जावलाखेलमध्ये कुनै एक ठाउँ रोजिनेछ,” सचिव देउवाले बताए। डा. राणाको माइती घर झम्सिखेलमा र उनका भाइ भूषण राणाको घर जावलाखेलमा रहेको छ। तर, सुरक्षा कारण देखाउँदै कांग्रेस नेताहरूले जावलाखेलभन्दा झम्सिखेलतर्फ बस्न उपयुक्त हुने सुझाव दिएका छन्।

बूढानीलकण्ठस्थित देउवा निवास आन्दोलनका क्रममा क्षतिग्रस्त भएकाले त्यसको पुनःनिर्माण सम्पन्न नहुञ्जेल उनीहरू ललितपुरमै बस्ने तयारीमा रहेको कांग्रेस स्रोतले जनाएको छ। आवास व्यवस्थापनका लागि राष्ट्रियसभा सदस्य जितजंग बस्नेत सक्रिय छन्। गत आक्रमणमा सभापति देउवाको घाँटीमा धारिलो हतियार प्रहार भई आठ टाँका लगाइएको थियो भने डा. राणाको पनि त्यही भागमा चोट लागेको थियो। अहिले टाँका खोलिसकिएको र थप जटिलता नदेखिएको चिकित्सकहरूले जनाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *