राजनीति

आन्दोलनबीच आक्रमणमा परेका देउवाको संघर्ष र योगदानको स्मरण :निरन्तर परिवर्तनका संवाहक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हालैको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परेपछि घाइते भएका छन्। देउवा र उनकी पत्नी, नेता डा. आरजु राणा देउवा उपचाररत छन्।

पञ्चायतदेखि निरंकुश राजतन्त्र र माओवादी युद्धसम्म निरन्तर लडेका देउवा आजको पुस्ताको आन्दोलसम्म सामना गर्ने एक मात्र नेपाली नेता मानिन्छन्। आन्दोलनकारीले आक्रमण गर्दा पनि देउवाले कुनै प्रतिकार नगरी शान्त रहनु, नयाँ पुस्ताको मागलाई सम्मानपूर्वक आत्मसात गरेको संकेतका रूपमा व्याख्या गरिएको छ।

देउवा नेतृत्वमा सुदूरपश्चिममा कर्णालीपारि पुल निर्माणदेखि हली प्रथा र कमैया प्रथाको अन्त्यसम्म ऐतिहासिक कदम चालेका थिए। उनले दलित, जनजाति, मधेसी र महिलाको अधिकारलाई संविधान र कानुनमार्फत संस्थागत गर्ने भूमिकामा योगदान दिएका छन्। ब्रिटिश गोर्खाले पाउने सुविधा समान बनाउन समेत उनको प्रयास उल्लेखनीय रह्यो।

आन्दोलनमा भएको हिंसात्मक आक्रमणप्रति आलोचना भइरहेको छ। विशेषगरी, ‘देउवा वृद्ध भयौ, राजीनामा देऊ’ भन्ने नाराबाजीलाई पार्टीको आन्तरिक प्रक्रियाबाट निर्णय हुने विषयसँग जोड्नु उचित नभएको बहस पनि बढेको छ। महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्ने उद्घोष गरेका देउवामाथि हिंसात्मक आक्रमण हुनु अमर्यादित भन्दै कतिपयले प्रश्न उठाएका छन्।प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले आन्दोलन दमन गर्न गोली चलाएको आरोप खेपिरहेको छ भने देउवा दम्पती प्रत्यक्ष आक्रमणबाट घाइते बनेकी छन्। आन्दोलनमा मास्क, हेल्मेट लगाएर हिंसात्मक गतिविधि गर्ने समूह को हुन् भन्ने प्रश्न अझै अनुत्तरित छ।

बीपी कोइरालादेखि गणेशमान सिंहसम्मको पदचाप पछ्याउँदै बाल्यकालमै राजनीति सुरु गरेका देउवामाथि भएको आक्रमणलाई कांग्रेसभित्रै ऐतिहासिक अपमानको रूपमा हेरिएको छ। पार्टीभित्रको पुस्तान्तरण बहसलाई हिंसात्मक बाटोले होइन, लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढाउनुपर्ने धारणा बलियो बन्दै गएको छ।घाइते सभापति देउवा र डा. आरजु राणा देउवाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पुनः जनताको सेवामा समर्पित हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *