काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएको मितिमा नै सम्पन्न गर्नुपर्ने आवश्यकता दोहोर्याएका छन्। बिहीबार सार्वजनिक गरेको भिडियो सन्देशमा उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन निर्वाचनलाई समयमै सम्पन्न गर्नु अपरिहार्य भएको बताएका छन्।
उनका अनुसार, देश र जनताविरुद्ध षड्यन्त्र अझै अन्त्य भएको छैन। “अन्तरिम सरकारलाई असफल बनाउन र चुनाव रोक्न योजनाबद्ध प्रयास हुनसक्छ,” प्रचण्डले चेतावनी दिँदै भने, “हामी तोकिएको मितिमा नै निर्वाचन सम्पन्न होस् भन्ने चाहन्छौं।” सम्बोधनमा प्रचण्डले आफ्ना अतीतका कमजोरी स्वीकार गर्दै पार्टी र नेतृत्व दुवैलाई सच्याउने प्रक्रियामा रहेको स्पष्ट पारे। उनले भने, “हामीले गलत विचार वा नीति लिएका होइनौं, तर व्यवहारमा कतै चुक्यौं। त्यसलाई सुधार्ने काम भइरहेको छ।”
प्रचण्डले आफ्नो नेतृत्वकालमा कुनै राष्ट्रघाती सम्झौता नगरेको दाबी गर्दै भ्रष्टाचारविरुद्ध निरन्तर लडाइँ चलाइरहेको पनि उल्लेख गरे। तर, जनताको अपेक्षासँग तुलना गर्दा आफूहरू कमजोर देखिएको स्वीकार गर्दै सच्याउने प्रतिबद्धता जनाए। उनले नेतृत्व हस्तान्तरणबारे पार्टीभित्र छलफल सुरु भएको खुलासा पनि गरे।
संविधान र लोकतान्त्रिक गणतन्त्रबाट विचलन हुने प्रयास देशलाई समाधान होइन, संकटतर्फ लैजाने चेतावनी दिँदै उनले लोकतन्त्रवादी शक्तिहरूलाई सजग रहन आह्वान गरे। “लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो,” उनले जोड दिँदै भने, “संविधान र लोकतन्त्रको रक्षा नै राष्ट्रको स्वतन्त्रताको रक्षा हो, जुन सबै नेपालीको साझा जिम्मेवारी हो।”




