काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहेका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल दुईपटक प्रधानमन्त्रीसँग भेट भइसकेका छन्। मन्त्रीहरूको शपथ कार्यक्रममा सहभागी भएका अध्यक्ष दाहालले मंगलबार प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरी बधाई समेत दिएका छन्।
तर, विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे भने अहिलेसम्म सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। उपसभामुख इन्दिरा रानाले पनि शपथका दुवै कार्यक्रममा भाग लिएनन्। संविधानअनुसार प्रतिनिधिसभा विघटन भए पनि सभामुख र उपसभामुख उम्मेदवारी दर्ता मिति नजिकिँदासम्म पदमै रहने व्यवस्था छ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता र प्रधानन्यायाधीश सदस्य रहने प्रावधान भएकाले उनीहरूको भूमिकाप्रति चासो बढेको छ। विगतमा परिषद्माको समीकरणका कारण संवैधानिक निकायमा नियुक्ति प्रभावित हुने गरेको अनुभव भएकाले यसपटक सहकार्य र सम्बन्धलाई थप महत्वपूर्ण मानिएको छ।
सभामुख घिमिरेको अनुपस्थितिलाई कतिपयले ‘अघोषित बहिष्कार’का रूपमा व्याख्या गरे पनि उनका प्रेस विज्ञ शेखर अधिकारीले सुरक्षाका कारण शपथ कार्यक्रममा नआएको र मन्त्रीहरूको शपथका दिन अस्वस्थ भएकाले उपस्थित हुन नसकेको जानकारी दिएका छन्। उनी चाँडै सार्वजनिक कार्यक्रममा देखिने बताइएको छ।
उपसभामुख रानाले भने प्रधानमन्त्रीको शपथ कार्यक्रममा निम्तो नपाएको र मन्त्रीहरूको शपथ कार्यक्रममा आधा घण्टाअघि मात्र निम्तो आएको कारण जान नसकेको प्रष्ट गरेकी छिन्। उनले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत बधाई दिँदै सरकारलाई सहयोग रहने उल्लेख गरेकी छन्।
यसबीच राष्ट्रियसभाका अध्यक्ष दाहाल प्रधानमन्त्री कार्कीलाई भेटेर ‘सबै मिलेर देशलाई निकास दिनुपर्ने’मा जोड दिएका छन्।
राष्ट्रपतिले सरकारको सिफारिसमा मंगलबार मध्यरातदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार तिहार–छठपछि परिस्थिति हेरेर नयाँ अधिवेशनबारे निर्णय हुने अपेक्षा गरिएको छ। अध्यक्ष दाहालको निकट भविष्यमा हुने विदेश भ्रमणसम्बन्धी छलफल पनि भएको जनाइएको छ।




