राजनीति

नयाँ नेतृत्व खोज्दै माओवादी : प्रचण्डलाई राजीनामा दिन जनार्दनको चुनौती

काठमाडौं । जेन–जी आन्दोलनले पुरानो पार्टी नेतृत्व र राजनीतिक संस्कृतिमा प्रश्न उठाइरहेका बेला माओवादी केन्द्रभित्रै पनि असन्तोष चुलिएको छ । उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिनुपर्ने माग गर्दै नयाँ नेतृत्वको आवश्यकता औंल्याएका छन् ।

शर्माको दाबी अनुसार जेन–जी आन्दोलनले भ्रष्टाचारले थिग्रिएको दलतन्त्र र नेतातन्त्रूलाई भत्काएको छ र यसलाई परिवर्तनको अवसरका रूपमा लिनुपर्छ । उनका अनुसार, अहिलेको पार्टी नेतृत्वले नैतिक र राजनीतिक दुवै औचित्य गुमाइसकेको छ ।

जनार्दनले प्रचण्डलाई आत्मालोचना गर्न आग्रह गरे पनि प्रचण्डले त्यसलाई अस्वीकार गर्दै उल्टै पार्टी नै छोड्नुस् भनेको भन्ने आरोप लाग्दै आएको छ । यही व्यवहारले पार्टीभित्र प्रश्न गर्ने नेतामाथि दबाब र असहजता बढाएको जनार्दन पक्षको गुनासो छ ।

जनार्दनको धारणा अनुसार, पार्टीले आन्दोलनको सन्देशलाई आत्मसात् गर्न नसके माओवादी स्वतः अप्रासंगिक बन्नेछ । तर, प्रचण्ड पक्षले जनार्दनमाथि अराजकता मच्चाउने र पार्टी फुटाउने आरोप लगाइरहेको छ । विश्लेषकहरूको भनाइमा, जेन–जी आन्दोलनले पुराना दल र नेताहरूमाथि आम अविश्वास झनै उजागर गरिदिएको छ । यस्तोमा माओवादी नेतृत्वले आत्मालोचना गरेर रूपान्तरणको बाटो समाउने कि वर्तमान नेतृत्व जोगाउने जिद्दी गर्ने भन्ने प्रश्नले पार्टीको भविष्य निर्धारण गर्नेछ ।

१६ बुँदे प्रस्ताव : नयाँ बाटो खोज्दै

जनार्दनले हालै प्रस्तुत गरेको १६ बुँदे प्रस्तावमा माओवादीको भावी दिशाबारे ठोस खाका प्रस्तुत गरिएको छ । त्यसमा–

प्रचण्डको राजीनामा र नयाँ नेतृत्व चयन

२०४६ पछि पद धारण गरेका सबैको सम्पत्ति छानबिन

स्वतन्त्र आयोगमार्फत पारदर्शी अनुसन्धान

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा बहस सुरु गर्ने

दलित, महिला र उत्पीडित वर्गका लागि स्पष्ट नीति

शहीद परिवार र अशक्त योद्धाका लागि सुरक्षा योजना

राष्ट्रियता संरक्षणमा सतर्क रणनीति
जस्ता एजेन्डा समेटिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *