काठमाडौं । जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त बनेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले ट्राफिक प्रहरीलाई निराश नभई उच्च मनोबलका साथ काममा खटिन आग्रह गरेका छन्।
मंगलबार निरीक्षणका क्रममा गृहमन्त्रीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्की र ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले क्षतिको विवरण प्रस्तुत गरेका थिए। गृहमन्त्री अर्यालले तत्कालीन भवनबाटै सेवा पुनः सुरु गर्ने निर्देशन दिँदै सरकार ट्राफिक प्रहरीको पक्षमा पूर्ण रूपमा सहयोग गर्न तयार रहेको उल्लेख गरे। उनले भने, “शान्ति सुरक्षा र सुशासनमा सरकारले कुनै सम्झौता गर्दैन, छिट्टै सबै कुरा लयमा फर्काइन्छ।”
उनले सरकारले निष्पक्ष र पक्षपातरहित ढंगले अघि बढ्ने प्रतिबद्धता जनाउँदै आसन्न निर्वाचनसम्म नागरिकले सुरक्षाप्रति विश्वास गर्ने वातावरण बनाइने स्पष्ट गरे।
जेनजी आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालय मात्र नभई परिसरमा रहेका सवारीसाधन समेत जलेर नष्ट भएका थिए। यस्तो अवस्थामा गृहमन्त्रीको प्रत्यक्ष निरीक्षण र प्रतिवद्धतालाई कर्मचारीहरूको मनोबल उकास्ने कदमका रूपमा लिइएको छ।




