काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी असोज १ गते देशभर शोक बिदा दिने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने र उनीहरूको स्मृतिमा शोक दिवस मनाउने निर्णय गरेको हो।
गृहमन्त्री तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बैठकपछि जानकारी दिँदै आन्दोलनमा सहादत प्राप्त गर्ने व्यक्तिहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने र मृतकका परिवारलाई कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिने बताए। त्यसअन्तर्गत १० लाख क्षतिपूर्ति तथा थप पाँच लाख अन्त्येष्टि खर्चका लागि छुट्याइनेछ।
यस्तै, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने, दुर्गम क्षेत्रका शवलाई गन्तव्यसम्म पुर्याउन हेलिकोप्टर वा सवारीसाधन निःशुल्क उपलब्ध गराउने र दाहसंस्कारमा समेत सरकारी सहयोग गर्ने निर्णय भएको छ।
सरकारले आन्दोलनका क्रममा भएको जनधनको क्षति र सम्भावित ज्यादतीबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्ने सैद्धान्तिक निर्णय पनि गरेको छ। साथै, दिवंगतहरूलाई स्मरण गर्न “जेनजी जागरण स्मरण पार्क” निर्माण गर्ने घोषणा गरिएको छ।
मन्त्रिपरिषद्को सोही बैठकले अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पेस गरेका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय पनि गरेको छ।




