देश

तीन मन्त्रालयको बागडोर घिसिङलाई, ‘उज्यालो नेपाल’ अभियानबाट चर्चित व्यक्तित्व सरकारमा

काठमाडौं । ‘लोडसेडिङ अन्त्य गर्ने अभियन्ता’का रूपमा चिनिएका कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा एकैपटक तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा दिइएको हो ।

नेपाल विद्युत् प्राधिकरणका दुईपटकका कार्यकारी निर्देशक रहेका घिसिङले पहिलो कार्यकालमै मुलुकलाई १८ घन्टासम्मको लोडसेडिङ संकटबाट मुक्त गराएका थिए । उनले विद्युत् आपूर्ति व्यवस्थापन सुधार, चोरी न्यूनीकरण, ग्रामीण क्षेत्रमा पहुँच विस्तार र घाटामा रहेको संस्थानलाई नाफामा पु¥याउने जस्ता काम गरेर जनतामाझ कुशल प्रबन्धकको छवि बनाएका थिए ।

तर, उद्योगलाई दिइएको ‘छुट बिल’ काट्ने निर्णयका कारण उनको कार्यकाल विवादित पनि बनेको थियो । दोस्रो कार्यकालमा तत्कालीन केपी शर्मा ओली सरकारसँग असहमति भएपछि उनलाई पदबाट हटाइएको थियो ।

राजनीतिक दलमा औपचारिक प्रवेश नगरे पनि ‘उज्यालो नेपाल’ अभियानमार्फत सक्रिय रहेका घिसिङ पछिल्लो जेन–जी आन्दोलनमा सडकमा समेत देखिएका थिए ।

रामेछापको बेथानमा जन्मिएका घिसिङले भारतको एनआईटी जमसेदपुरबाट विद्युत् इन्जिनियरिङमा स्नातक, पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर स्टिममा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *