काठमाडौं। मुख्यसचिव एकनारायण अर्यालले जेनजी आन्दोलनको मागअनुसार गठन हुने नागरिक सरकारसँग काम गर्न राज्यको कर्मचारी प्रशासन पूर्ण रूपमा तयार रहेको बताएका छन्।शुक्रबार सिंहदरबारस्थित पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अत्यावश्यक सेवा अबाधित सञ्चालन भइरहेको जानकारी दिए। राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको र खानेपानी, विद्युत् तथा टेलिफोनजस्ता जनसेवा निरन्तर प्रवाह भइरहेका उनले बताए।
सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको उल्लेख गर्दै अर्यालले भने, “सुरक्षा स्थिति सामान्यतर्फ उन्मुख छ। सरकार गठनसँगै मन्त्रालयमार्फत सेवा प्रवाह थप प्रभावकारी हुनेछ।”उनका अनुसार प्रशासनिक अभिलेखमा ठूलो क्षति पुगेकाले प्राविधिक मूल्याङ्कन भइरहेको छ। पूर्वाधार र सवारीसाधनमा भएको क्षतिको पनि मूल्याङ्कन गरेर प्रभावित नभएका क्षेत्रबाट सेवा सञ्चालन सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए। अर्यालले स्पष्ट पारे, “सरकार गठनमा कुनै समस्या छैन। सम्भवतः सिंहदरबारमै नागरिक सरकारको घोषणा हुनेछ। त्यहीअनुसार ब्युरोक्रेसीले व्यवस्थापन गर्न तयार छ।”




