काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मुलुक नेतृत्वविहीन अवस्थामा पुगेको छ। जेनजी आन्दोलनको प्रभावमा अन्तरिम सरकार कसको नेतृत्वमा बन्ने भन्नेमा अन्योलता बढिरहेका बेला ठूला दलहरूले लोकतान्त्रिक र संवैधानिक बाटोबाटै निकास खोज्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
जेनजीका भित्रै विभिन्न नामहरू प्रस्ताव भइरहेका छन्। काठमाडौं महानगरका मेयर बालेन शाहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउनुपर्ने र संसद विघटन अपरिहार्य हुने अडान राखेका छन्। तर, कार्कीको नाममा समेत जेनजीभित्र सहमति बन्न सकेको छैन।
यस्तो अवस्थामा एमाले, कांग्रेस र माओवादी केन्द्रले संविधानको दायराभित्रै राजनीतिक समाधान खोज्नुपर्ने सन्देश दिएका छन्।
एमालेको धारणा
एमाले महासचिव शंकर पोखरेलले संविधान र लोकतान्त्रिक विधिबाट मात्र निकास सम्भव हुने बताएका छन्। उनले राष्ट्रपतिलाई सार्थक संवाद सुरु गर्न ध्यानाकर्षण गराउँदै लोकतान्त्रिक संस्थाहरू सक्रिय भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
कांग्रेसको भनाइ
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राष्ट्रपतिले थालेको पहलको स्वागत गर्दै संवादमार्फत मात्र निकास सम्भव हुने निष्कर्ष सुनाएका छन्। कांग्रेसको विज्ञप्तिमा ‘आवश्यकताको सिद्धान्त’ अनुसार गरिने निर्णयलाई पनि संवैधानिक बाटोमार्फत वैधानिकता दिन सकिने भनिएको छ।
माओवादीको अपील
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालको फाइदा उठाएर प्रतिगामी शक्तिहरू सक्रिय भएको चेतावनी दिएका छन्। उनले समुन्नत लोकतन्त्र र गणतन्त्रकै पक्षमा आन्दोलनकारीलाई रणनीति बनाउन आग्रह गरेका छन्। माओवादीको विज्ञप्तिमा संविधानलाई नै आधार बनाएर समावेशी लोकतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख छ।
राष्ट्रपतिबाट सन्देश
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयास भइरहेको बताएका छन्। उनले संयमता अपनाउँदै आन्दोलनकारीका माग सम्बोधन गर्न संवाद र सहकार्य आवश्यक रहेको जनाएका छन्। ठूला दलहरूको साझा सन्देश स्पष्ट छ – संविधान र लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर समाधान खोज्ने प्रयासले अराजकता थप्नेछ।




