काठमाडौं । अन्तरिम सरकार गठनको तयारीसँगै नयाँ नेतृत्वबारे बहस चर्किँदै गएको छ। विशेष गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउनुपर्ने कि नपर्ने भन्ने विषयमा फरक–फरक मत देखिएको छ। बुधबार, जेनजी आन्दोलनसँग आबद्ध युवाहरू जंगीअड्डा अगाडि भेला भएर कार्कीलाई नेतृत्व दिनु उपयुक्त नहुने भन्दै नाराबाजीमा उत्रिएका थिए। उनीहरूले ‘गो ब्याक इण्डिया’ जस्ता नारासमेत लगाउँदै भारतीय मिडियाको उपस्थिति विरुद्ध आक्रोश पोखेका थिए।
त्यसैगरी, नेपाली सेनाले युवाहरुलाई त्यहाँबाट हटाउन प्रयास गर्दै भोलि बिहान व्यक्तिगत सम्पर्कमा आउन निर्देशन दिएको छ। सेनाले आन्दोलनकारीहरूलाई आफ्नो नाम, सम्पर्क नम्बर र नेतृत्वकर्ता स्पष्ट पार्न आग्रह गरेको छ। यसबीच, अन्तरिम नेतृत्वबारे कार्की, काठमाडौं मेयर बालेन शाह र धरान मेयर हर्क साम्पाङको नाम चर्चामा रहेको स्रोतले जनाएको छ। तर मेयर बालेनले कार्कीलाई समर्थन दिइसकेका छन् । तर साङपाङ भने गुनासो पोखिरहेका छन् । आफू प्रधानमन्त्री बन्न काठमाडौं आएको सबैको प्रस्तावमा तर अहिले त्यो भएन् उनले भने ।
कार्कीले आफूलाई नागरिक समाजको प्रतिनिधि स्वरूप अघि सारिएको भन्दै शान्ति, राहत वितरण र निष्पक्ष निर्वाचनलाई प्राथमिकतामा राख्ने बताइन्। मेयर बालेन शाहले जेनजी आन्दोलनलाई समर्थन गर्दै कार्कीको नेतृत्वमा सरकार बनाउन सकिने संकेत गरे। धरान मेयर हर्क साम्पाङ भने प्रधानमन्त्री बन्ने इच्छासहित काठमाडौं आइपुगेका छन् तर उनले “पहिले संविधान र कानुनको आधारमा स्पष्टता चाहिन्छ” भनेका छन्। यता, व्यवसायी दुर्गा प्रसाईंले “देशको साझा जिम्मेवारी पूरा गर्न व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने” बताउँदै आफूलाई नेतृत्वप्रति कुनै मोह नरहेको स्पष्ट पारे। सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु जेलमा थुनाबाट गैरकानुनी रुपमा बाहिरिएका रवि लामिछानेलाई भने जेन जी पुस्ताले अस्वीकार गरेका छन् ।
सैनिक स्रोतका अनुसार, प्रारम्भिक छलफल कार्कीको नेतृत्वमा नागरिक सरकार गठनतर्फ केन्द्रित छ। तर आन्दोलनकारी युवाहरूको असन्तुष्टि र आन्तरिक मतभेदका कारण अन्तिम टुंगो अझै लाग्न सकेको छैन। बिहीबार पनि जेन जी को नेतृत्वमा अन्तरिम सरकार बनाउनुपर्ने भन्दै उनीहरु पुनः सडकमा आएर नारा लगाएका छन् । उनीहरुले जेन जी को स्वतन्त्रतामा सबैको स्वतन्त्रता हुने भन्दै नारा लगाएका थिए । नेपाली सेनाको निषेधाज्ञा तोड्दै केही सानो समुह सडकमा उत्रिएका थिए । युवाहरुले जेन जीको पछाडी बसेर अन्य शक्तिले खेल्न खोजेको बताएका छन् । उनीहरुले मेयर बालेनलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनुपर्ने उल्लेख गर्दै सडकमा नारा लगाए ।




