काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानपछि जेनजी आन्दोलनका प्रतिनिधिहरू बुधबार नेपाली सेनाको मुख्यालय, जंगीअड्डा पुगेका छन्। वार्ताको प्रारम्भिक भेटमा प्रधानसेनापति अशोकराज सिग्देलले प्रतिनिधिहरूलाई सबै मिलेर आउन आग्रह गरेका थिए। स्रोतका अनुसार, जेनजी प्रतिनिधिमध्ये १५–१६ जना प्रमुख टोलीका युवा पहिलो चरणमा भेट गर्न जंगीअड्डा पुगेका थिए। प्रधानसेनापति सिग्देलले भने, “विषम परिस्थितिमा सबै पक्षको आवाज समेटिने गरी कुराकानी अघि बढाउनुपर्ने छ। त्यसैले पहिले एकमत भएर वार्ताको टेबलमा बस्न तयार हुनुस्।”
भेटपछि जेनजी प्रतिनिधि जंगीअड्डाभित्रै अलग छलफलमा जुटेका छन्। सैनिक स्रोतका अनुसार, उनीहरूलाई संवादका लागि एक संयोजक तोक्न भनिएको छ। प्रारम्भिक छलफलपछि मात्रै राष्ट्रपतिको उपस्थितिमा औपचारिक संवाद हुने अपेक्षा गरिएको छ। यसअघि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जेनजी प्रदर्शनकारीलाई संयमित भएर संवादमा आउन अपिल गरेको थियो। “लोकतन्त्रमा नागरिकले उठाएका माग वार्ता र संवादमार्फत् समाधान गर्न सकिन्छ, मुलुकलाई थप क्षति नहोस्,” विज्ञप्तिमा उल्लेख थियो।
नेपाली सेनाले पनि संवादबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो। सेनाको अगुवाइमा सुरक्षा प्रमुखहरूले राष्ट्रपतिले वार्तामा अगुवाइ गर्नु उपयुक्त हुने निष्कर्ष निकालेका थिए।यसैबीच, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जेनजी युवालाई वार्ताका लागि तयार रहन आग्रह गरेका थिए। उनले भनेका छन्, “अब तपाईंको पुस्ताले देशको नेतृत्व गर्नुपर्नेछ, तर वार्ता अघि संसद् विघटन हुनु आवश्यक छ।”
जेनजी युवा आन्दोलन सामाजिक सञ्जाल प्रतिबन्ध र सरकारको भ्रष्टाचारविरुद्धको आक्रोशसँगै शुरु भएको थियो। सोमबार भएको प्रदर्शनमा कम्तीमा १९ जनाको मृत्यु र २०० भन्दा बढी घाइते भएका थिए। प्रदर्शनकारीहरूले मंगलबार प्रशासनको कर्फ्यू तोडेर संसद् भवनमा प्रवेश गरेपछि आगलागी र तनावको स्थिति सिर्जना भएको थियो। सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले भनेको छ, “विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हाम्रो साझा दायित्व हो।”




