देश

जेनजी प्रदर्शन र राष्ट्रपतिको ‘सवारी’ एकैपटक, काठमाडौँमा ट्राफिक दबाब बढ्ने संकेत

काठमाडौं । जेनजीको आन्दोलनले राजधानीमा भीडभाड बढिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेल आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने एक कार्यक्रममा सहभागी हुँदैछन्।

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरेका १५ सय बिरामी र चिकित्सकलाई सम्मान गरिनेछ। राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेल बिहान ११ बजे भृकुटीमण्डप पुग्ने र १२ बजे फर्किने तालिका तय भएको छ।

राष्ट्रपतिको ‘सवारी’ व्यवस्थापनका लागि प्रहरी परिचालन भइसकेको छ। यता, माइतीघर मण्डलामा भइरहेको जेनजी प्रदर्शनमा सहभागी संख्या बढ्दै गएपछि नयाँबानेश्वर–माइतीघर सडकखण्डमा ट्राफिक डाइभर्सन गर्ने तयारी ट्राफिक प्रहरीको छ।

यस्तो अवस्थामा राष्ट्रपतिको कार्यक्रमले महाराजगञ्ज–रत्नपार्क सडकखण्ड पनि प्रभावित हुने देखिएको छ। प्रहरीका अनुसार राष्ट्रपतिले १०स्४५ मा शीतल निवासबाट निस्किएर १५ मिनेटमै भृकुटीमण्डप पुग्ने तालिका छ। तर, यस अवधिमा अन्य सवारी साधनलाई सडक प्रयोग नगर्न दिइनेछ।

सडक बन्दले कम्तीमा १५ मिनेटसम्म जाम हुने र त्यसको असर उपत्यकाभर पर्ने अनुमान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *