काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि भदौ १४ गतेदेखि १८ गतेसम्म चीनको पाँच दिने भ्रमणमा जाने भएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आफूले गर्ने भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले यस भ्रमण मुलुकको समग्र हितमा केन्द्रित हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीको चीन भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो। भ्रमणको मुख्य उद्देश्य उत्तरी चीनको तियान्जिनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ)शिखर सम्मेलनमा सहभागिता जनाउनु हो। सम्मेलन १५ र १६ भदौमा हुने छ र उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेतृत्व गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य राष्ट्र प्रमुखहरू पनि उपस्थित हुनेछन्।
प्रधानमन्त्री ओलीको नेतृत्वमा भ्रमण दलमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा। युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहित उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन्।
भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस्तै, उपराष्ट्रपति हान झेङ, रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा.सोमदेक मोहा बोरभोर, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि भेटवार्ता तय गरिएको छ।
भ्रमणको अन्तिम दिन १८ भदौमा प्रधानमन्त्री ओलीले फासिवादविरुद्धको विश्वयुद्ध र जापानी आक्रमणविरुद्धको चीनको प्रतिरोध युद्धको ८० औं वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डलसहित सहभागी हुनेछन्। चीन सरकारले जनाएको अनुसार ५० भन्दा बढी देशका प्रतिनिधिहरू उक्त कार्यक्रममा उपस्थित हुनेछन्।
प्रधानमन्त्री ओलीले संसदमा बताए अनुसार, यस भ्रमणले नेपाल–चीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ पार्ने, एससीओ शिखर सम्मेलनमा नेपालको दृष्टिकोण प्रस्तुत गर्ने र मुलुकको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउने अवसर प्रदान गर्नेछ।




