काठमाडौं। नेकपा एमालेले भदौ १३ गतेका लागि तय गरेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। बैठक स्थगित भएको जानकारी पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिँदै तयारी अपूर्ण भएकै कारण बैठक सारिएको बताए।
उनका अनुसार बैठकको नयाँ मिति चाँडै तय गरिनेछ। सो बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन पेस गर्ने तयारी थियो। यसअघि विभिन्न तहका कमिटीलाई सुझाव पठाउन दिइएको म्याद आज सकिँदै छ।
एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने तय भएको छ। महाधिवेशनमा दुई हजार १२८ प्रतिनिधि र २६४ आयोजकसहित करिब दुई हजार ३९२ जनाको सहभागिता रहनेछ।
हाल पार्टीभित्र विधान महाधिवेशनको तयारीसँगै पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयलाई लिएर विवाद पनि तीव्र बनेको छ। सदस्यता नवीकरण नभए पनि उनले थापागाउँमा सम्पर्क कार्यालय खोलेर गतिविधि जारी राखेकी छन्।
महाधिवेशनको नारा तय गरिएको छ— “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य।”
पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू राजनीतिमा अघि बढिसकेको भन्दै अब नफर्कने बताएकी छन् । भंगालमा भेट्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झासँग भण्डारीले एमाले अध्यक्ष ओलीले अहिले आफैं बोलीबाट ब्याक भएर रोक्न खोजेको बताइन् ।
भण्डारीको भनाई उदृत गर्दै झाले भने, ‘म राजनीतिक रूपमा अगाडि बढिसकेँ । एमालेबाटै अघि बढ्न चाहन्छु । अस्तिसम्म केपी ओलीले नै पूर्व राष्ट्रपति किन राजनीतिमा आउन पाउँदैन भनेर अन्तर्वार्ता दिनुभएको छ । अहिले उहाँले आफैँ बोली फेरेर मलाई रोक्दै हुनुहुन्छ ।’




