काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणका लागि नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीलाई ठोस कार्यदिशा र नीति तय गरेर जनस्तरमा पुर्याउनुपर्नेमा जोड दिए।
कार्यक्रममा खनालले अध्यक्ष माधवकुमार नेपाललाई १० औँ महाधिवेशनले पारित गरेको दस्तावेज अझै प्रकाशित नगरेको विषयमा प्रश्न उठाए। उनले भने, “१० औँ महाधिवेशनले नेपाली समाजवादको कार्यक्रम अघि सारेका छौँ तर अहिलेसम्म सार्वजनिक भएको छैन। यो कमजोरी हो, जसलाई तुरुन्त सच्याउनुपर्छ।”
खनालका अनुसार सो दस्तावेज प्रकाशित हुनाले नेपाली समाजवादको रूपरेखा प्रष्ट हुने र समाजवादी आन्दोलनलाई स्पष्ट दिशानिर्देश दिनेछ। उनले समाजवाद निर्माणको लक्ष्यलाई पार्टीको केन्द्रमा राख्दै पूँजीवादी संरचना ध्वस्त पारेर नयाँ राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचना विकास गर्नुपर्ने बताए।
उनले थपे, “पार्टीले प्रधान अन्तर्विरोध किटान गरी त्यहीँ प्रहार गर्नुपर्छ। ठोस लक्ष्य तय गरेर समाजवादलाई नेपाली जनजीवनमा रूपान्तरण गर्न सकिन्छ।”




