काठमाडौं । नेकपा (एमाले) ले भारत र चीनबीच लिपुलेकमार्फत व्यापार सञ्चालन गर्ने सहमतिप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी ऐतिहासिक प्रमाणका आधारमा नेपालको भूभाग भएको दोहोर्याए। उनले नेपाललाई सहभागी नगराई छिमेकीहरूले आपसी सहमति गर्ने प्रयास सार्वभौमिकतामाथि धक्का भएको बताए।
उनले भने, “नेपाली भूमिमाथि सहमति गरिएको छ, तर नेपाललाई स्वीकृति वा सहभागिता दिइएन। यो अस्वीकार्य छ, एमाले यसको कडा विरोध गर्छ।”
बर्तौलाले भूगोल वा जनसंख्या आधारमा मुलुक सानो–ठूलो भए पनि स्वतन्त्रता र स्वाधीनताको सवालमा कुनै सम्झौता अस्वीकार्य हुने उल्लेख गरे। “देशको सार्वभौमिकतामाथि आघात पुर्याउने गतिविधि भयो भने हामी प्रतिवाद मात्र होइन, सशक्त विरोध गर्छौँ,” उनले जोड दिए।
साथै उनले सरकारले छिमेकीहरूसँग उच्चस्तरीय कूटनीतिक वार्ता गरेर तत्काल समाधान खोज्नुपर्नेमा जोड दिए।




