राजनीति

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव नेपालमा, मोदी र ओलीको भेटमा के होला विशेष वार्ता ?

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार बिहान काठमाडौं आइपुगेका छन्। मिश्रीको नेपाल आगमनको प्रमुख उद्देश्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नु र आगामी भारत भ्रमणको एजेन्डा तय गर्नु हो।

प्रधानमन्त्री ओली भदौ ३१ देखि असोज २ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने तयारीमा छन्। यसपटकको भ्रमण विशेष मानिएको छ, किनभने ओली र मोदीबीचको द्विपक्षीय वार्ता परम्परागत दिल्ली भेटभन्दा अलग, बौद्ध धर्मको पवित्रस्थल बोधगयामा हुने भएको छ।

नेपाल–भारतबीच सचिवस्तरीय छलफलमार्फत प्रारम्भिक एजेन्डा तय गर्ने कार्य अहिले काठमाडौंमा भइरहेको छ। विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली यसपटक नेपाली सेनाको विशेष विमानमार्फत भारत जाने तयारीमा छन्। सेनाले भिआइपी यात्राका लागि राखेको विमानबाट बोधगयासम्म उडान भरिने भएको छ। बोधगयाको महाबोधी सांस्कृतिक केन्द्रमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता र सम्भावित सम्झौताहरू हुने स्रोतको भनाइ छ। यसका साथै ओलीले एसियाकै प्राचीन शैक्षिक संस्था मानिने नालन्दा विश्वविद्यालयमा पनि सम्बोधन गर्ने कार्यक्रम छ।

नालन्दा विश्वविद्यालय ५औं शताब्दीमा स्थापना भएको र बौद्ध दर्शन, गणित, चिकित्सा, खगोलशास्त्रजस्ता विषयको अध्ययन केन्द्र रहँदै आएको ऐतिहासिक संस्था हो। मुस्लिम आक्रमणपछि नष्ट भए पनि यसको पुनःस्थापना भएको छ, र अहिले अन्तर्राष्ट्रिय स्तरमा अध्ययन–अध्यापन हुँदै आएको छ।

प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल बोधगयामा ह्यात प्यालेस होटलमा बस्नेछन्, जसलाई दुई दिनका लागि पूर्ण रूपमा खाली गरिएको छ। मिश्री भोलि नै दिल्ली फर्कनेछन्। उनीद्वारा गरिएको छलफलले ओली–मोदी भेटवार्ताको खाका स्पष्ट पार्ने र सम्भावित सम्झौताका आधार तय गर्ने अपेक्षा गरिएको छ। यसपटक भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीको भेटलाई विशेष रुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीलाई मोदीले गहिरो प्रश्न सोध्ने तयारी गरेको स्रोतको भनाइ छ । तर सो प्रश्नको उत्तरको जवाफ ओलीले नेपाली र विश्व इतिहासले स्वीकार्ने दिने नेपालीहरुले विश्वास लिएका छन् । सो विषय अहिले सामाजिक संजालहरुमा समेत टिक्काटिप्पणीका रुपमा उठ्न थालिसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *