काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले संघीय निजामती ऐनमा रहेको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम नेकपा एमालेबाट भएको आरोप लगाएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले यसबारेमा अहिलेसम्म कुरा लुकाए पनि अब लुकाउनुपर्ने आवश्यकता नरहेको बताए ।
उनले राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन प्रस्ताव हालेको बताए । उनले किन संशोधन हाल्नुभयो रु भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा एमाले सांसदहरूले माथिको निर्देशन भन्ने जवाफ दिएकाले अब लुकाउनुपर्न जरुरी नरहेको बताए । एमाले छल कपट गर्ने राजनीतिक दल भएको उनको आरोप छ ।
उनले भने ‘यसमा लुकेको केही छैन, अहिलेसम्म हामीले लुकायौँ अब लुकाउनुपर्ने आवश्यकता छैन । किन छैन भने राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनिकन उहाँहरूले संशोधन प्रस्ताव हालिसकेपछि किन त्यस्तो संशोधन हालेको भनेर पत्रकारले सोध्दा हामीलाई माथिको निर्देशन छ भने । एमाले त छलकपट गर्दो रहेछ । त्यसमा पनि दुई मत छैन ।’
सांसद कोइरालाले देशमा सुशासन किञ्चित मात्रामा पनि नरहेको बताए । देशमा भ्रष्टाचार दिन प्रतिदिन बढेर गएको बताए ।




