देश

नेपालको जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय जगत्मा उठाइरहेका छौँ : मन्त्री देउवा

गण्डकी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले अन्तर्राष्ट्रिय जगत्मा जलवायु न्यायको विषयलाई सशक्त ढङ्गले उठाउँदै आएको बताएकी छन् ।

नेपाल तरुण दल कास्कीद्वारा आज पोखरामा आयोजित ‘नेपालको परराष्ट्रनीति, जलवायु परिवर्तन एवं तरुण युवाहरूको सरोकार विषयक संवाद कार्यक्रम’मा उनले नेपाललाई जलवायुजन्य हानिनोक्सानीसम्बन्धी अन्तर्राष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने धारणा राखिन् ।

सो विषयमा हालै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा समेत नेपालका पक्षबाट आफूले आवाज उठाएको उल्लेख गर्दै मन्त्री देउवाले विकसित देशले गरिरहेको कार्बन उत्सर्जनको नकारात्मक असर नेपालले भोग्नुपरिरहेको बताइन् । ‘हामीलाई हानि नोक्सानी कोष दिनुपर्ने, बाढी पहिरोले भत्केका पुल, विद्यालयजस्ता भौतिक संरचना बनाइदिनुपर्ने विषयमा जोडका साथ उठाएका छौँ’, उनले भनिन्, ‘नेपालले पनि कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्छ, अहिले रहेको ४५ प्रतिशत वन क्षेत्रलाई अझ बढाउन वृक्षारोपण अभियान सञ्चालन गर्नुपर्छ ।’

उनले जलवायु परिवर्तनले ठूलो चुनौती निम्ताएको जनाउँदै यसको जोखिम न्यूनीकरणमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताइन् । पछिल्लो समय जलवायु परिवर्तनले पारेका असरबारे जनगुनासो धेरै आउने गरेको मन्त्री देउवाको भनाइ छ ।

जलवायु परिवर्तनको असरबाट आउने पिँढीलाई बचाउन वृक्षारोपण गर्नुपर्ने, प्लाष्टिकको प्रयोग कम गर्नुपर्ने, विद्युतीय गाडी तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उनले बताइन् । मन्त्री देउवाले नेपाल भूराजनीतिक हिसाबले संवेदनशील र रणनीतिक महत्वको भूगोलमा रहेको बताइन् ।

स्थिर परराष्ट्र नीतिका कारण नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता विश्वमाझ स्थापित बनेको उनको भनाइ छ । ‘नेपालको आफ्नै परराष्ट्र नीति छ, विश्व समुदायमा आफ्नै पहिचान छ, यसलाई विगतदेखि नै हामीले कायम गर्दै आएका छौँ, यो हामी सबैको गौरवको विषय हो’, मन्त्री देउवाले भनिन्, ‘हाम्रो कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका कारण विदेशी मुलुकहरूले नेपाललाई उच्च सम्मान दिने गरेका छन् ।’

कार्यक्रममा राष्ट्रियसभा सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले तरुण दलका सबै तहका अधिवेशन समयमा सम्पन्न गर्न आग्रह गरे । उनले सरकार गठनका बेला कांग्रेस र नेकपा (एमाले)बीच भएको सात बुँदे सम्झौता कार्यान्वयनमा जोड दिए । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले विपद्का बेला राहत तथा उद्धारमा खट्न तरुण दलका सदस्यलाई आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *