देश

अविश्वास प्रस्ताव पारित भए पनि मुख्यमन्त्री नछाड्ने लामाको घोषणा

हेटौडा ।बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफू पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। मंगलबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पारित भएपछिको प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्री पद नछाड्ने बताएका हुन्।

मुख्यमन्त्री लामाले गठबन्धन सरकारमा दलको नेता नभए पनि मुख्यमन्त्री पदमा रहन सकिने दाबी गरेका छन्। उनले भने, “दलको नेता खाली भयो भन्दैमा मुख्यमन्त्री फेर्न मिल्दैन। कानुन अनुसार जानुपर्छ। मुख्यमन्त्री बन्न दलको नेता हुन आवश्यक छैन। राजीनामा दिनुपर्ने कुनै अवस्था छैन।”

उनले संविधानले पूर्ण बहुमतको सरकारका लागि मात्र संसदीय दलको नेता हुनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै गठबन्धन सरकारमा भने यस्तो अनिवार्यता नभएको जिकिर गरे। लामाले आफ्नै दलभित्रका नेताहरू र मन्त्रीहरूले मिलेर आफूलाई हटाउने षड्यन्त्र गरेको आरोपसमेत लगाए।

आज बसेको कांग्रेस संसदीय दलको बैठकमा दर्ता भएको अविश्वास प्रस्तावमा २२ मत पक्षमा र १५ मत विपक्षमा परेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *