काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेश क्षेत्रमा तत्काल राहत पुर्याउने उद्देश्यले ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन्। शुक्रबार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो कदम तत्काल प्रभावकारी सिंचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले चालिएको बताए।
प्रधानमन्त्री ओलीका अनुसार, एक डिप बोरिङबाट करिब ६० बिघा जमिनमा सिंचाइ सम्भव हुने भएकाले कुल बोरिङ योजनाले ठूलो क्षेत्रफल लाभान्वित हुने विश्वास गरिएको छ।
“संकटग्रस्त क्षेत्र घोषणा गरेर मात्रै सरकार चुप बस्दैन,” प्रधानमन्त्री ओलीले भने, “दीर्घकालीन र तत्कालीन उपाय एकसाथ अघि बढाइन्छ।” सरकारले मधेशका ८ वटै जिल्लालाई लक्षित गर्दै योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
प्रधानमन्त्री ओलीले मधेशको भूमिगत जलस्रोत सुक्दै गएको भन्दै चुरे क्षेत्रमा तालतलैया निर्माण, वर्षा पानी संकलन र जमिनमुनिको पानी नझर्ने वातावरण बनाउने योजना पनि अघि सारे। उनले सरकारका सबै निकाय, गैरसरकारी संस्था, तथा समुदायलाई सहयोगका लागि आह्वान गर्दै भने, “यो समस्या सरकार एक्लैले समाधान गर्न सक्दैन, सबैको साझेदारी आवश्यक छ।”




