काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले रुपन्देही–३ मा आगामी उपनिर्वाचनबारे आन्तरिक छलफल गरेको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी, पूर्वपदाधिकारी तथा पार्टी प्रतिनिधित्व गर्ने मन्त्रीहरूको बैठकले उपनिर्वाचनका रणनीति र योजनाबारे छलफल गरेको हो।
पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठकमा रुपन्देही–३ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे कुनै निर्णय वा छलफल नभए पनि पार्टीको रणनीतिक तयारीबारे गम्भीर विमर्श भएको छ। मन्त्रीपरिषद् हेरफेरबारे भने बैठकमा कुनै चर्चा नभएको उनले बताए।
रुपन्देही–३ मा उपनिर्वाचन स्वर्गीय दीपक बोहराको निधनपछि हुन लागेको हो। उनी गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभामा विजयी भएका थिए। आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।
प्रमुख सचेतक घिमिरेले भने, “हामीले रुपन्देहीको निर्वाचनबारे छलफल गरेका छौँ। मुख्यतया आगामी उपनिर्वाचनमा पार्टीको रणनीति र योजनाबारे चर्चा भएको हो।”
उनका अनुसार २०७९ को निर्वाचनमा समानुपातिक मतअनुसार काँग्रेस २० हजार मतसहित पहिलो, एमाले १६ हजार मतसहित दोस्रो र रास्वपा १४ हजार मतसहित तेस्रो स्थानमा थियो। मधेसकेन्द्रित दलहरू पनि त्यसपछि रहेका थिए।
“त्यो निर्वाचनमा हामी प्राविधिक रूपमा हारेका थियौँ, तर जनमतको अवस्था मजबुत नै छ,” घिमिरेले बताए।
उनले आगामी उपनिर्वाचनमा गठबन्धनको सम्भावना खुला रहेको संकेत गर्दै भने, “०७९ मा विभिन्न गठबन्धनबाट चुनाव लडिएको थियो। अहिले पनि कांग्रेस, एमाले, रास्वपा र मधेसकेन्द्रित दलहरू एकअर्कासँग गठबन्धन गर्ने चर्चा छ। तर अहिलेको स्थिति ठ्याक्कै भन्न सकिने अवस्था छैन।”




