काठमाडौं । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनलाई मुख्य विषय बनाएर पदाधिकारी र पूर्वपदाधिकारीको बैठक काठमाडौंमा बैठकमा जारी छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा पार्टीका शीर्ष नेताहरू, मन्त्रीहरू, र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।
बैठकमा मल अभाव र खडेरीको असर खेपिरहेका किसानलाई राहत उपलब्ध गराउने उपाय, साथै जगदुल्ला हाइड्रोपावरको ठेक्काबारे जानकारी संकलन प्रमुख छलफल बिन्दु रहे। पूर्वगृहमन्त्री बालकृष्ण खाण, जसले २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग पराजय व्यहोरेका थिए, बैठकमा सहभागी भएका छन्। बोहराको निधनपछि खाली रहेको सो क्षेत्रका लागि निर्वाचन आयोगले मिति तय गरिसकेको छ।
बैठकको अर्को महत्त्वपूर्ण पक्ष भनेको सरकारमा रहेका कांग्रेस मन्त्रीहरूको कार्यक्षमतामाथि बढ्दो असन्तुष्टि हो। वरिष्ठ नेता र महासमितिका सदस्यहरूले कार्यकुशल मन्त्रीहरूलाई अघि ल्याउन माग गरिरहेका बेला देउवाले हाललाई मन्त्री फेरबदल नगर्ने स्पष्ट संकेत दिएका छन्। प्रधानमन्त्री ओलीको सुझावलाई समेत उनले अस्वीकार गरेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत कमजोर मन्त्रीहरूलाई हटाएर प्रभावशाली नेतृत्व ल्याउनुपर्ने धारणा राखेका छन्, भने डा। शेखर कोइरालाले नयाँ नेतृत्वमा सरकार निर्माणको बहस अघि बढाइसकेका छन्।




