काठमाडौं । थाइल्याण्ड र कम्बोडिया बीचको सीमा क्षेत्रमा तनाव चुलिँदै गएको छ। हालै थाई सेनाले कम्बोडियाको दुई वटा सैन्य अड्डामा हवाई आक्रमण गरेको पुष्टि भएको छ। थाई सेनाका अनुसार, कम्बोडियाबाट गोली चलाउँदा एक जना थाई नागरिकको मृत्यु र तीन जना घाइते भएपछि यो कारबाही गरिएको हो। बैंकक पोष्टका अनुसार, उत्तरपूर्वी सुरिन प्रान्तमा रहेको थाई सैन्य अड्डामा कम्बोडियाली सैनिकले आक्रमण गरेको थियो।
थाइल्याण्डका उपप्रवक्ता रिचा सुक्सुवाननले भने, हामीले योजनाबद्ध ढंगले हवाई शक्ति प्रयोग गरेका हौं। अर्कोतर्फ, कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले पनि थाई आक्रमणको पुष्टि गरेका छन्। कम्बोडियाले शान्तिपूर्ण समाधानको पक्षमा आफू उभिएको बताउँदै आए पनि, हालको अवस्थामा बल प्रयोगबाहेक विकल्प नरहेको बताइएको छ।
युद्धको झल्को दिने यो घटनापछि थाइल्याण्डले सीमाना बन्द गर्ने निर्णय गरेको छ। विगतमा पनि दुवै देशबीच सीमा विवाद भइरहे पनि, सन् २०११ पछिका वर्षहरूमा सम्बन्ध शान्त रहेको थियो। मे २०२४ मा भएको झडपपछि कम्बोडियाले अन्तर्राष्ट्रिय न्यायालयमा जाने प्रस्ताव राखेको थियो, तर थाइल्याण्डले अदालतको अधिकार अस्वीकार गरेको थियो।




