राजनीति

भण्डारीको रोकावट ओलीको रणनीति? एमालेमा ‘निर्विकल्प’ हैसियत जोगाउन पूर्वराष्ट्रपति पनि निशानामा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी पुनःप्रवेश रोकिनु नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रणनीतिको हिस्सा बनेको देखिएको छ। एमालेभित्र आफ्नो निर्विकल्प हैसियत जोगाइराख्न ओलीले सदस्यता नवीकरणमै भण्डारीको मार्ग अवरुद्ध गरिदिएका छन्।

भण्डारीले असार १४ मा सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दै पार्टी सदस्यता नवीकरण गरेकी थिइन्। तर एमालेले त्यो प्रक्रिया ‘त्रुटिपूर्ण’ भन्दै रोक लगायो। केन्द्रीय कमिटी बैठकमा ओलीले प्रत्यक्ष रूपमा उनीविरुद्ध धारणा राख्दै भण्डारीले राजनीतिभन्दा माथि बस्नुपर्ने टिप्पणी गरे।

एमालेले यसअघि स्वर्गीय सुवास नेम्वाङ र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई भने सदस्यता नवीकरण गर्न रोकेको थिएन। नेम्वाङ त महाधिवेशनबाट उपाध्यक्षसम्म निर्वाचित भए। तर भण्डारीको हकमा फरक मापदण्ड अपनाइनुले यो निर्णय ओलीको शक्ति सन्तुलनका लागि गरिएको संकेत स्पष्ट देखिन्छ।

ओलीले चितवन महाधिवेशनमा ७० वर्षे उमेर हद र कार्यकाल सीमा हटाएर विधान नै आफू अनुकूल बनाइसकेका छन्। अबको ११ औँ महाधिवेशनमा अध्यक्षमा पुनः निर्वाचित हुने बाटो खोल्न उनका पक्षमा तयारी तीव्र छ।

एमालेभित्र माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमदेखि भीम रावलसम्मलाई किनार लगाइसकेका ओलीले अब संभावित चुनौतीका रूपमा देखिएकी पूर्वराष्ट्रपतिलाई नै रोक्ने प्रयत्न गरेका छन्।

पार्टीमा ओलीको आलोचना बढ्दो छ, तर उनीविरुद्ध उभिने हिम्मत एमालेभित्र देखिँदैन। यस्तो अवस्थामा ओलीको ‘निर्विकल्पता’ भित्र लुकेको सत्ता जोगाउने रणनीति थप प्रकट भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *