देश

संविधान संशोधन अघि बढाउन सात भाइको जोड, गठबन्धनलाई २०८४ सम्म निरन्तरता दिनुपर्ने निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका सात पूर्व वरिष्ठ नेताहरूले नेकपा एमालेसँगको सात बुँदे सहमतिअनुरूप संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने निष्कर्ष निकालेका छन्। सिंहदरबारस्थित उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारी निवासमा सोमबार बसेको बैठकमा कांग्रेसका ‘सात भाइ’ नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।

बैठकमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह तथा वर्तमान प्रवक्ता एवं पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी थिए। बैठकपछि पूर्वमहामन्त्री सिटौलाले कांग्रेस–एमालेबीच सरकार गठनका बेला गरिएको सात बुँदे सहमतिअनुसार संविधान संशोधन प्रक्रिया थालिनु जरुरी रहेको बताए। ूसंविधान संशोधन सम्बन्धी प्रक्रिया अझै सुरु हुन सकेको छैन, अब ढिला गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष हो, उनले भने।

बैठकले गठबन्धन सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो पार्ने दिशामा बहसको दायरा बढाउनुपर्ने धारणा पनि बनाएको छ। नेताहरूको निष्कर्ष छ— गठबन्धनले जनअपेक्षाअनुसार काम गर्नुपर्छ र यही सरकारलाई २०८४ सालसम्म निरन्तरता दिनुपर्ने आवश्यक छ। उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्री ओलीसँग बैठकको निष्कर्ष साझा गर्न पनि सुझाव दिइएको छ।

कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै नेताहरूबीच छुट्टै प्यानल निर्माणसम्बन्धी छलफल पनि बैठकको अर्को केन्द्रबिन्दु थियो। यद्यपि, प्यानलबारे औपचारिक सहमति भने अझै बनेको छैन। यसअघि श्रेष्ठ र कोइरालाको निवासमा समेत यस्तै प्रकृतिका छलफलहरू भइसकेका छन् भने चाक्सीबारीको यो बैठक सिंहको संयोजनमा बसेको हो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *