राजनीति

विद्या भण्डारीको सदस्यता नवीकरणबारे मध्यम मार्गमा एमाले : ‘पहिले राजनीतिक सहमति, अनि मात्र प्राविधिक प्रक्रिया’

काठमाडौं । नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण र पार्टीको नेतृत्व समायोजनबारे बहस नयाँ मोडमा पुगेको छ। पार्टीका सचिव योगेश भट्टराईले सदस्यता विवादलाई प्राविधिकभन्दा राजनीतिकू विषय भनेका छन्, जसले पहिले राजनीतिक सहमति आवश्यक पर्ने बताएका छन्।

च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीचको संवादबाट समाधान निकालिने आशा व्यक्त गरे। उनले सदस्यता विवादलाई सामान्य प्रक्रियागत विषय मान्दै अनावश्यक विवाद नझिक्न सुझाव दिए।

यता, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेले महासचिव शंकर पोखरेलको भनाइ उद्धृत गर्दै भण्डारीको सदस्यता नवीकरण भइसकेको दाबी गरे। पाण्डेले यो विषय सार्वजनिक विवादभन्दा आन्तरिक छलफलबाट सुल्झिनुपर्ने बताए।

यसैबीच, एमालेले सोमबारदेखि ललितपुर च्यासलमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि गहिरो छलफल हुने छ।

मुख्य प्रस्तावहरूमा , ७० वर्षे उमेरहद हटाउने, कार्यकारी पदमा दुई कार्यकालको सिमा खारेज गर्ने पार्टी संरचना तीन तह -स्थायी, पोलिटब्यूरो, केन्द्रीय समिति मा राख्ने  रहेका  छन् ।   यो प्रस्ताव सचिवालय र पोलिटब्यूरोबाट पहिले नै पारित भइसकेको छ, अब केन्द्रीय कमिटीले अन्तिम निर्णय गर्नेछ। संशोधन प्रस्ताव अनुमोदन भएमा अध्यक्ष ओलीको नेतृत्वमा पुनः मार्ग खुल्नेछ, जसले आगामी महाधिवेशनको ढोका पनि तय गर्नेछ।

एमालेभित्र नेतृत्व र सदस्यता दुवै विषय गम्भीर मोडमा छन्। विद्या भण्डारीको पुनरागमनबारे राजनीतिक सहमति र विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने अपेक्षा गरिएको छ। यो बैठक एमालेको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण मोड हुनसक्छ।

नेकपा एमालेभित्र नेतृत्वको विषयमा कसरी उठ्यो विवाद ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *