देश

शेखर कोइराला संसदीय दलको नेता बन्न सक्दैनन् : राजन केसी

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजन केसीले कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन कुनैपनि हालतमा नटुट्ने दाबी गरेका छन् । उनले शेखर कोइराला पार्टीको संसदीय दलको नेता बन्न नसक्ने पनि ठोकुवा गरे ।

उनले भने, ‘हाम्रो दलको विद्यानले प्रधानमन्त्री हुनको लागि संसदीय दलको नेता हुनुपर्छ भनेको छ । पार्टीमा त जो पनि दलको नेतामा आउन सक्छ । दलको नेता बन्न अहिले उहाँ (शेखर) को सम्भावना देख्दिनँ । संख्या छ भने प्रयोग गर्नुपर्छ ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीभित्रको विवाद र बहस स्वभाविक भएको भन्दै यही विवादको कारण पार्टी विभाजन नहुने दाबी गरे ।

उनले भने, ‘यो पार्टी विभाजन भन्ने कुरा बाहिरी हल्ला हो । हामीले विभाजन देखिसक्यौँ । जहाँसम्म विचारको कुरा छ, छलफल हुन्छ । सरकार परिवर्तन हुँदैन । गठबन्धन परिवर्तन हुँदैन ।’ उनले नेपालमा कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनाईएको भन्दै यो संसारमै भएको विरलै प्रयोग भएको बताए ।

उनले पार्टीभित्र भएको अनुशासनको कारबाही पनि अहिले अन्तिम नभएकोले यसमा चित्त नबुझे पूनरावलोकनमा जान सकिने सुझाए । उनले मुलुकको खास संकट भनेको रोजगारी सिर्जना गर्न नसक्नु भएको उल्लेख गर्दै अहिलेको सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने, ‘यो मुलकको संकट भनेको रोजगारी नहुनु हो । देशमा समृद्धि कसरी आउँछ भनेर यो विषयमा विकासविद् र प्रशासनविद्सँग छलफल गर्नुपर्छ । मुलुकको स्रोत र साधनलाई ठीक ढंगले परिचालन गर्न सकियो भने समृद्धि ल्याउन सकिन्छ । यो मुलुक अथाह सम्भावनाले भरिएको छ। जलस्रोत, पर्यटन, कृषि, हाम्रो जनशक्ति यी सबै देशको अथाह सम्भावना हुन् । यो व्यवस्थाभन्दा उच्च अर्को व्यवस्था हुन सक्दैन् । बरु, यसलाई करेक्सन गर्नुपर्छ ।’

उनले मुलुकले लामो लोकतान्त्रिक यात्रा तय गरिसकेको भएपनि अहिलेसम्म विकासको मोडालिटी बनाउन नसक्नु दुःखद् भएको चित्रण गरे । अहिलेको सरकार बनाउँदा आफूहरुले संविधान संशोधन गर्ने भनेको उल्लेख गर्दै अब पहलो प्राथमिकतामा समृद्धिलाई राखेर अघि बढ्नुपर्ने बेला आएको उनको भनाई छ ।

उनले भने, ‘हाम्रो देशको जनसांख्यिक लाभ घट्ने अवस्थामा छ । सूचना र प्रविधिको विकासलाई समात्नुपर्छ । आईटीबाट ठूलो संख्यामा युवाहरुलाई रोजगारी दिन सकिन्छ ।’ केसीले मुलुकमा भ्रष्टाचार भएको र अहिले कारबाहीपनि भैरहेको सुनाए । उनले भने,‘हिजो भएको भ्रष्टाचार जनतामा आउँदैन थियो, अहिले छिस्स केही भयो भने एकैचोटी सूचना प्रवाह हुन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई अब अभियानमा लिएर जानुपर्छ ।’

नेकपा (एमाले)का नेता कृष्णभक्त पोखरेलले कांग्रेस–एमालेको सत्ता गठबन्धन आगामी २०८४ सम्म कायम रहने दाबी गरेका छन् । उनले भने, ‘यो गठबन्धनको अहिले विकल्प छैन् । ०८४ सम्म नै यो गठबन्धन ढुक्कसँग जान्छ । तलमाथि हुने कुनै सम्भावना छैन ।’

 

उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने टिप्पणी गरे । उनले भने, ‘उहाँ शेखर कोइरालाले आफ्नो दलभित्र त्यो हैसियत राख्नुहुन्न । अर्को वैकिल्पक सरकार बन्ने कुरा सपनामा पनि नसोचे हुन्छ । त्यस्तो सम्भावना देख्दिनँ ।’

उनले वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्रबाट कुनै विद्रोह नहुनेसमेत ठोकुवा गरे । उनले भने, ‘हाम्रो पार्टीभित्र विद्रोह हुँदैन । विद्या भण्डारीले विद्रोह गर्न सक्नुहुन्न । उहाँको चरित्र त्यस्तो छैन । अहिले केपी ओलीको नेतृत्व हुँदाहुँदै विद्रोह गर्ने अवस्था छैन् ।’

नेता पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको कुरा साँचो भएको स्पष्ट पारे । उनले भने, ‘उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छ, यो कुरा संगठन विभाग प्रमुखले भन्नुभएको छ । उहाँले पनि भन्नभुएको छ ।’ उनले अहिले देखिएको ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हल हुने ठोकुवा गरे ।

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने विषयले अहिले सिंगो मुलुक नै तरंगित भएको उल्लेख गरे । तर, एमाले केन्द्रीय कमिटी बैठकपछि यस विषयमा एउटा निश्कर्षमा पुग्ने उनले जानकारी दिए । उनले भने, ‘यो विषयले सिंगो देश तरंगित भएको छ । एमालेभित्र नभएर कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत यो विषय प्रवेश गरेको छ । विज्ञ र विश्लेषकहरुले विचार राख्नुभएको छ । हामी संसदीय प्रणालीलाई अवलम्बन गरेका छौँ । सुधारिएको संसदीय प्रणाली भन्नुपर्छ । राष्ट्रपति भएकाहरु सामान्यतय राजनीतिमा आएको देखिँदैन । खासगरी बेलायत र भारतमा त्यस्तो देखिँदैन । संघीय गणतन्त्रको प्रतिकको रुपमा रहने राष्ट्रपति पूनः राजनीतिमा नआए हुन्थ्यो भन्ने जनताको भावना देखिँदैछ । यो पार्टीको विषयवस्तु भएको हुँदा केन्द्रीय कमिटीको बैठकमा निक्र्यौलमा पुग्छौं । साउन ५ गतेबाट केन्द्रीय कमिटीको बैठक बस्दैछ । तर, पार्टीकै नेतृत्व गर्ने भन्ने सन्दर्भमा हाम्रो पार्टीमा गम्भीरताका साथ छलफल भैरहेको छ ।’

भारत र चीनले ठूलो आर्थिक फड्को मारेको दृष्टान्त पेश गर्दै उनले नेपालले समृद्धिको यात्रामा फड्को मार्न नसकेकोमा भने चिन्ता व्यक्त गरे । उनले भने, ‘हामीले नेकपाकालिन समयमा समृद्धिको एजेण्डा बनाएका हौँ । गत वर्षको तुलनामा अहिले अर्थतन्त्रका हरेक सूचांक राम्रो छ । १३ प्रतिशतले राजश्व वृद्धि भएको छ । बीआरआई अघि बढ्ने अवस्थामा छ । एमसीसीबाट लाभ लिने अवस्था छ । बंगलादेशमा विद्युत बेच्ने स्थिति बनेको छ । भौतिक पूर्वाधार विकास भएको छ । जसरी विकासले गति लिनुपर्ने हो, त्यो नभएको साँचो हो । अहिले ९० प्रतिशत जनताको घरमा विजुली पुगेको छ । ९० प्रतिशत जनताको घरमा पानी पुगेको छ । जनताको आशाअनुसार काम हुन नसकेको हो । त्यसमा सुधार गर्नुपर्छ । तर, हुँदै नभएको होइन विकास भएको छ । यो पर्याप्त छैन । अब गति बढाउनुपर्छ ।’

उनले आफूहरुले संविधान बनाउँदा नै धेरै मेहनत गरेको र दुनियाँको कुनैपनि संविधानभन्दा कम नरहेको जिकिर गरे । उनले भने, ‘अब संविधान संशोधन समय आएको छ । दुनियाँको कुनै पनि संविधानभन्दा कम नहुनेगरि संविधान लेख्यौँ । तर, कार्यान्वयनको चरणमा हेर्दा हामी सन्तुष्ट हुने अवस्था छैन । प्रतिनिधिसभामा पनि संख्या घटाउने हो । मन्त्रालय घटाउने हो । प्रतिनिधिसभा पूर्णतयः प्रत्यक्ष हुनुपर्छ । तर, त्यसमा सबैको महिला, दलितलगायतको टिकट सुनिश्चित् हुनुपर्छ । राष्ट्रियसभालाई पूर्ण समानुापतिक बनाउनुपर्छ ।’

उनले मन्त्रीहरु घुस र भ्रष्टाचारमा मुछिएको विषयमा राजीनामा दिएरमात्रै नहुने भन्दै अभियोजन गरेर दण्डित गरिनुपर्ने आवाज उठाए । उनले भने, ‘यो विषयमा गम्भीरतापूर्वक अनुसन्धान हुनुपर्छ । अभियोजन गरेर दण्डित गर्नुपर्छ । राजीनामा दिएरमात्र उन्मुक्ति गर्ने कुरा अन्त्य हुनुपर्छ । मेरो पार्टीका नेता परुन् वा अरु जोकोही परुन मेरो भनार्य क्लियर छ अब कसैलाई पनि उन्मुक्ति दिनुहुँदैन ।’

राष्ट्रियसभा पूर्वसदस्य तथा संघीयताविज्ञ डा. खिमलाल देवकोटाले मन्त्रीहरू र सचिवहरूको कार्यकक्षमा सिसी टिभी राख्नुपर्ने बताएका छन् । भ्रष्टाचार नियन्त्रणको लागि उनले आफूले धेरै पहिलेदेखि यो विषय उठाएको स्मरण गराए । उनले भने,‘मन्त्रीहरु र सचिवहरुको कार्यकक्षमा सिसिटिभी राख्नुपर्छ । भ्रष्टाचारको जड र अखडा मन्त्री र सचिवहरुमा छ । त्यसकारण नागरिकले देख्नेगरि सिसी क्यामेरा राख्नुपर्छ । भित्र दलाल र माफियासँग डिल गर्ने काम भएको छ ।’ देवकोटाले आफूले संयुक्त सदनमा यो विषय उठाइसकेको सुनाए । उनले अहिले कांग्रेस र एमालेजस्ता दुई ठूला दल सरकारमा रहेको भन्दै अहिले सुशासनमा सम्झौता गर्ने स्थिति रहेको टिप्पणी गरे ।

 

उनले भने, ‘अहिले कांग्रेस र एमालेजस्ता प्रमुख दलहरु सरकारमा छन् । कठा प्रश्न कसले गर्ने ? त्यो समस्या भएको छ । सुशासनमा सम्झौता गर्ने स्थिति छ ।’ उनले संघीयता कार्यान्वयनको सवालमा केही कमिकमजोरी भए सुधार गर्न सकिने बताए । उनले भने, ‘हामी संघीयतामा गएका छौँ । यसमा कमिकमजोरी छ भने करेक्सन गरौँ । कांग्रेस र एमालेले संविधान संशोधन मेन एजेण्डा भनेका छन्, अब राष्ट्रपतिजस्तो सम्मानित पदमा पुगेको व्यक्ति फेरि सक्रिय राजनीतिमा जानुहुँदैन भन्ने विषय संविधानमा लेख्नुपर्छ । उमेरहद र कार्यकाल संविधानमा लेखौँ । प्रधानमन्त्री कार्यकाल पनि दुई पटक लेख्नुपर्छ ।’ उनले मन्त्रालयको संख्या घटाउनुपर्ने सुझाव दिए ।

उनले भने,‘मन्त्रालयको सख्या जो राखिएको छ, संस्था धेरै भएका छन् । यो आधाभन्दा बढि घटाउनुपर्छ । हामीले सिंहदबारमा १५ वटा मन्त्रालय हुनुपर्छ भनेर सिफारिश गरेका थियौं । प्रदेशमा पनि मन्त्रालयको संख्या धेरै भएको छ । गुनासो छ । प्रदेश मन्त्रालयको संख्या घटाउनुपर्छ ।’ उनले अहिलेको सरकारले संविधान संशोधन गर्ने कुरामा शंका लागेको बताए । उनले भने, ‘संविधान संशोधनप्रति नेताहरु प्रतिबद्ध हुनुहुन्छ जस्तो लागेको छैन् ।’

उनले संविधानमा समानुपातिक समावेशी प्रतिनिधित्व विश्वमै उत्कृष्ट रहेको दाबी गरे । उनले भने, ‘यो संविधान धेरै राम्रो छ । महिला, दलितहरुको उपस्थिति एकदमै राम्रो छ । स्थानीय सरकारमा महिलाहरुको उपस्थिति ४१ प्रतिशत छ । अहिले एउटा पालिकाको औसत बजेट ८० करोड छ । फिस्कल ट्रान्सफर भएको छ । गाउँगाउँमा विकासको लहर आएको छ । विकासमा फड्को मारेको छ । संघीयता भनेको प्रदेश होईन अधिकारको बाँडफाँड हो । अधिकार नै तल गएको छ ।’ उनले संघीयता खारेज गर्न नसकिने स्पष्ट पारे । उनले भने, ‘संघीयता आवश्यक छ । यो प्रणाली हो । प्रतिनिसिधामा २७५ पनि ठूलोभयो । अब १६५ मात्रै बनाउनुपर्छ । प्रत्यक्षमा ल्याउनुपर्छ ।’

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *