राजनीति

भूमिहीनका लागि सरकारले ऐन संशोधन गर्दैछ : कांग्रेस उपसभापति खड्का

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भूमिहीन नागरिकको समस्या समाधान गर्न भूमि सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढाइएको बताएका छन्।

शुक्रबार सुर्खेतको लेकबेशी र भेरीगंगा नगरपालिकामा आयोजित कार्यक्रममा भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बस्तीमा बस्ने नागरिकलाई लालपुर्जा वितरण गर्दै खड्काले सरकारले ऐन संशोधनका लागि चाँडै दलहरूबीच छलफल गर्ने बताए।

“वर्तमान सरकार जनताको समस्या समाधानप्रति गम्भीर छ,” उनले भने, “राजनीतिक स्थायित्व कायम गर्दै जनतालाई राहत दिने काममा केन्द्रित छौं।”

उपसभापति खड्काले भूमिको अधिकतम उपयोग गर्दै व्यावसायिक खेतीमार्फत आर्थिक समृद्धिमा पुग्नुपर्नेमा जोड दिए। साथै, जनता निराश कम र प्रतिनिधिप्रति असन्तुष्ट बढी रहेको उल्लेख गर्दै जनताको चित्त बुझाउने खालको व्यवहार अपनाउन नेता–कार्यकर्तालाई आग्रह गरे। “मत माग्दा मिठा कुरा गर्ने तर काम नगर्ने प्रवृत्तिले जनतामा आक्रोश बढेको छ,” उनले भने।

उनका अनुसार अहिलेको गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहनेछ। एमाले अध्यक्ष ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र यही गठबन्धनले २०८४ को निर्वाचन गराउने खड्काको दाबी छ।

खड्काले उपप्रधानमन्त्री रहँदा लालपुर्जा लिन लाग्ने राजस्व २०० प्रतिशतसम्मबाट घटाएर ५–१० प्रतिशतमा झारेको पनि स्मरण गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *