काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल–चीन संस्कृति शिखर सम्मेलन–२०२५ को उद्घाटन समारोहमा बोल्दै उनले दुई देशबीचको मित्रता सुदृढ बनाउने दिशामा कुनै कसर बाँकी नराखिने बताएका हुन्।
प्रधानमन्त्री ओलीले भने, “हामी आफ्नो क्षमता अनुसार विकास र सम्बन्ध विस्तारमा अघि बढिरहेका छौं। मित्रता कायम राख्न गच्छे चाहिँदैन, मन चाहिन्छ।” उनले नेपाल–चीन सम्बन्ध आगामी दिनमा झनै फराकिलो र सशक्त हुँदै जाने विश्वास व्यक्त गरे।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा आयोजित कार्यक्रममा चीनका लागि नेपाली राजदूत छन सोङ, राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य, काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोललगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो।
सम्मेलनको उद्देश्य दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै, कला, संस्कृति र भेषभूषालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने रहेको आयोजकहरूले बताएका छन्। कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकको उल्लेख्य उपस्थिति थियो।




