काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका लागि कांग्रेससँग सहमति भए पनि हाललाई तत्काल संशोधन प्रक्रिया अघि नबढाउने स्पष्ट पारेका छन्।
दिशानिर्देश टेलिभिजनमा बिहीबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुई ठूला दलबीच प्रारम्भिक सहमति भए पनि व्यवहारिक पक्ष र आवश्यक बहुमतको अभावले तत्काल संशोधन सम्भव नरहेको बताए।
“संविधान संशोधनबारे कांग्रेस र एमालेबीच सरकार गठनको समयमा छलफल र सहमति भएको हो,” ओलीले भने, “तर अहिले दुवै पार्टीबीच एक मत छैन, त्यसैले तत्काल संशोधन गर्ने स्थिति छैन।”अहिले त्तत्काललाई संविधान संशोधन गर्न नसकेपनि आवश्यक बहुमत र अनुकुल मिलाएर संविधान संशोधनको पक्षमा अघि बढ्छौँ ।
प्रधानमन्त्री ओलीका अनुसार भूमि विधेयक जस्तै विषय संसदको माथिल्लो सदन — राष्ट्रिय सभामै अड्किएको अवस्थामा, संविधान संशोधन जस्तो संवेदनशील विषय अघि बढाउँदा संख्या र समर्थनको समीकरण गम्भीर विषय हो। उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाको शक्ति सन्तुलनमा ध्यान दिनुपर्ने बताए।
संविधान संशोधनबारे विभिन्न शक्ति, दबाब र दृष्टिकोणबीच सन्तुलन मिलाउनुपर्ने ओलीको भनाइ छ। “सबै पक्षको मूल्याङ्कन गरेर मात्रै अगाडि बढ्नुपर्छ,” उनले जोड दिए।




