काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्ला दिनमा पार्टीभित्रको विभाजन र असन्तोष घटाउँदै सबै धारलाई समेट्ने प्रयासमा लागेका छन्। नेतृत्वमा आलोचना खेपिरहेका देउवाले अब पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको ‘संयोजनकारी’ शैली अपनाउँदै पार्टीलाई एक ढिक्का बनाउने रणनीति लिएका छन्। भित्रभित्रै सक्रिय छलफलहरू सुरु गर्दै देउवाले गगन थापा, विश्वप्रकाश शर्मा, शेखर कोइराला लगायत युवा र असन्तुष्ट नेताहरूसँग संवाद बढाइरहेका छन्। पछिल्लो समय संसददेखि संगठनसम्म देखिएको असहमतिलाई सम्बोधन गर्न उनले पार्टीभित्र ‘संवाद, सहमति र संयोजन’ मा जोड दिएका छन्।
स्वर्गीय गिरिजा प्रसाद कोइरालाले जस्तै पार्टीभित्र फरक मत राख्नेहरूलाई समेत समेटेर अघि बढ्ने नीति लिने संकेत देउवाले दिएका छन्। पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै उनले सहकार्यको वातावरण बनाउने तयारी गरेका छन्। देउवाको यो मोडलाई कतिपयले ‘राजनीतिक परिपक्वता’ का रूपमा हेरेका छन् भने अरूले ‘आन्तरिक दबाबको सामना गर्न बनाइएको रणनीति’ भन्दै विश्लेषण गरेका छन्। यसरी पार्टी एकता र भविष्यका चुनौतीहरूलाई मध्यनजर गर्दै देउवाले इतिहासको सफल अभ्यासबाट मार्गदर्शन लिने संकेत गरेका छन्, जुन कांग्रेसको भविष्यका लागि निर्णायक मोड सावित हुन सक्छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत असार १३ मा चितवन पुगेर भने, ‘अब म रिटार्यड हुन लाग्या छु ।’ उनले यसो भन्दै गर्दा सभापति देउवा पार्टीबाट रिटार्यड हुँदैछन् कि सरकारको नेतृत्वबाट भन्ने विषयमा कांग्रेसभित्र चर्चाको विषय बन्यो । अभैm उनले अगाडि भने, ‘पार्टी छाड्दै गर्दा पार्टीलाई एकढिक्का बनाउने मेरो इच्छा छ ।’
उनले कांग्रेस पार्टीकै कारण आफू ५ पटक प्रधानमन्त्री भएको भन्दै अब अवकाशको मुखमा पार्टीलाई एकढिक्का बनाउने इच्छा रहेको भन्दै भाषण गरेका थिए । देउवाले अगाडि भने, ‘हाम्रोभित्र के छ भने टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो । यो रोग सुर्धान सबै लाग्नुपर्छ ।’ ‘यही पार्टीका कारण म प्रधानमन्त्री भएँ । पार्टी सभापति भएँ । अब रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ,’ देउवाले भने । सभापति देउवाले किन यस्तो धारणा अघि बढाए भन्ने प्रश्नको अहिले चर्चा छ ।
सभापति देउवाले पाँच पटक देशको प्रधानमन्त्री बन्दा कांग्रेसभित्र देखिएको गुट–उपगुटका कारण कम्जोर बनेको र अन्य पार्टी जस्तै कम्जोर बन्दै गएपछि कुनै पनि निर्वाचनमा एकल बहुमत हासिल गर्न नसकेको र अन्य दलहरुको सहमतिमा सरकार गठन गर्दा सत्तासाझेदार दलसँगको सहमतिमा अघि बढ्दा विवादमा पर्ने गरेको स्मरण गरेका छन् ।
सभपाति देउवाले कांग्रेसलाई अनुशासित,बलियो एकताबद्ध बनाउन संस्थापन र इतरसमुहबिचको सहमति र सहकार्य भएको निष्कर्ष निकालेका छन् । सो विषयलाई कांग्रेसका महामन्त्री र इतरसमुहका डा. शेखर कोइरालले समेत सकरात्मक सोच भएको बताउन थालेका छन् । सभापति देउवाले सो धारण अघि बढाउँदा सुरुमा प्रतिवादमा उर्तिएको इतरसमुहले विस्तारे कांग्रेसलाई एक ढिक्का बनाउने विषयमा आवश्यक छलफल र विचार आदानप्रदान गर्नुपर्ने बताउँदै आएको छ । इतरसमुहले सभापतिको पहलमा छलफल र परामर्श लिन चाहेको स्पष्ट देखिन्छ ।
सभापति देउवाले अघिल्लो हप्ता सकिएको कांग्रेस केन्द्रीय कमिटीको बैठकमा अवकाश आफ्नो मर्जीको कुरा भएको भनेपछि अहिले कांग्रेसभित्र सभापति देउवाको धारणा र पार्टीको आगामी भविष्यको विषयमा केन्द्रित भएको पार्टीभित्र छलफल हुन थालेको छ । केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले अब सभापतिजीले अवकाश लिने बेला आयो भनेर कुरा उठाएपछि देउवाले महामन्त्री शर्मालाई जवाफ दिँदै भने, ‘म के गर्छु भन्ने मेरो कुरा हो । मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे म अप्ठ्यारो मान्छे हो नि विचार गर्नुस् ।’ देउवाले केही दिन अघि अब आफूले रिटायरमेन्ट लिने बेला भएको बताएका थिए । यसैमा शर्माले धन्यवाद भनेपछि देउवाले यस्तो भनेका हुन् ।
शर्माले सभापतिले चितवनमा अवकाश लिन्छु भनेर बोलेको विषयमा बैठकमा प्रशंसा गर्दै भनेका थिए । ‘चितवनमा बोल्दा अवकाश लिने बेला आयो, भन्नुभयो । यो प्रशंसनीय छ । पार्टी एक बनाउँछु भन्नुभयो, यो पनि सकारात्मक कुरा हो ।
देउवाले पार्टी विधान र संविधानअनुसार पार्टीको १५ औं महाधिवेशन समयमै हुन्छ भन्न पनि छोडेका छैनन् । त्यसो त कांग्रेसको महाधिवेशन विधानको प्रावधानअनुसार चार वर्षमै गर्ने कि पाँच वर्ष र विधानअनुसार अर्को ६ महिना गरी साढे पाँच वर्षमा महाधिवेशन गर्नैपर्ने बाध्यता छ । तर, कांग्रेसमा १५ औं महाधिवेशन २०८४ को आमनिर्वाचन अगाडि कि पछाडि भन्ने बहस छ । सभापति देउवाले महाधिवेश आगामी २०८४ को निर्वाचनअघि नै गर्ने तयारीमा छन् । सभापति देउवाले १५ औँ महाधिवेशनमार्फत पार्टीलाई एक ढिका बनाएर अगाडी बढाउन सक्ने नेतृत्वको खोजीमा छन् । सभापति देउवाले सोही अनुसार पार्टीलाई एक ढिक्का बनाउने रणनीतिलाई अगाडी बढाउन खोजिएको बुझिएको छ । एक कांग्रेसपार्टीभित्र दुई गुट भएका कारण साझा धारणा बनाउन नसकिने कारण पार्टी विवादमा जाने गरेको कांग्रेस संस्थापनपक्षका नेताहरुको बुझाइ छ । सोही अनुसार सभापति देउवाले कांग्रेसलाई इतिहासमा नै बलियो बनाउन एक ढिका हुन आवश्यक रहेको धारणा सार्वजनिक गरिसकेका छन् । नेपाली कांग्रेसले तोकिएको महत्वपूर्ण जिम्मेवारी समयमा नै गर्न नसक्दा पार्टीभित्र प्रश्न उठ्न थालेको स्मरण गर्दै नेताहरुलाई ,संगठित र जिम्मेवारीपूर्ण बनाउन सभापति देउवाले कांग्रेसमा कडा नीति लिएको कांग्रेसका एक नेताले बताए ।
सभापति शेरबहादुर देउवाको नेतृत्वमा असार १६ देखि २३ गतेसम्म चलेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले थुप्रै महत्वपूर्ण निर्णय गर्यो ।
सभापति देउवाले बैठकमार्फत पार्टीलाई अनुशासित र एक ढिक्का बनाएर लैजाने अठोट सार्वजनिक गरे। विगतमा बारम्बार देखिएको गुटगत संघर्ष, आन्तरिक असहमति र संगठनात्मक अस्तव्यस्तता सामूहिक आरोप प्रत्यारोपले कांग्रेसलाई कम्जोर बनाएको र कुनै पनि निर्वाचनमा एकल बहुमत ल्याउन नसकेपछि बढी सिट हासिल गरेपनि कुनै दुई दलको सहकार्यमा सरकार सँचालन गर्नुपर्दाको बाध्यता बुझेर सभापति देउवाले कांग्रेस सुधारको अभियानलाई अगाडी बढाएको कांग्रेस संस्थापन पक्षका नेताहरुको बताउँदै आएका छन् ।
सभापति देउवाले अनुशासनको सवालमा यसपटक अपेक्षाकृत कडा र स्पष्ट कदम चालेका छन्। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय चुनावमा पार्टी उम्मेदवारलाई असहयोग गरेको अभियोगमा ३० भन्दा बढी नेता–कार्यकर्तामाथि कारबाही गरिएको छ। कतिपयलाई निष्कासन, केहीलाई निलम्बन र अरुलाई चेतावनी दिइएको छ। सोही विषय अहिले कांग्रेसभित्र जल्दोबल्दो बहस बनेको छ । सभापति देउवाले कांग्रेस संस्थापन इतरसमुहका नेताहरुमाथि कारबाही गरेपनि सो पक्षका नेताहरुले चर्को आलोचना गरिरहेका छन् । तर पार्टी सुधारका क्रममा आएका आलोचनालाई नै सभापति देउवाले मुल मन्त्र बनाएर अघि बढ्नुपर्ने समेत राजनीतिक विशेषज्ञहरुले बताउँदै आएका छन् । नेपाली कांग्रेसभित्रका नेता तथा कार्यकर्ताहरुले निर्वाचनका बेला कांग्रेसलाई झुक्याएर अन्य पार्टीलाई सहयोग गर्ने प्रवृतिले पार्टीको नीति नियमको उल्लङघन भइरहको थियो । सोही कारण सभापति देउवाले पार्टीलाई मर्यादित र एक ढिका बनाउन सबैको सहकार्य आवश्यकता रहेको भन्दै पार्टीभित्र अन्र्तघात गर्नेमाथि कारबाही प्रक्रिया अगाडी बढाएका हुन् ।
बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय पनि गर्यो। एमालेसँगको सात बुँदे सहमतिलाई आधार मानेर ‘संविधानको गतिशील कार्यान्वयनका लागि समयानुकूल सुधार’को कुरा उठाइयो। तर, नेपाली कांग्रेस नै संविधानका मूल संरचनाकार मध्ये एक पार्टी हो। अहिलेको संशोधन चर्चा, एमालेसँग सहकार्यको राजनीतिक सन्तुलन हो कि वास्तवमै जनताका अपेक्षा अनुसारको संविधान सुधारको खोजी ?
भ्रातृ संघहरूको महाधिवेशन तोकिएको समयमै हुन नसक्नु पार्टीभित्रको कार्यसंयोजन समस्या हो। खासगरी, युवा शक्तिको सशक्त प्रतिनिधित्व गर्ने नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघ जस्ता निकायमा नेतृत्वको अभाव संस्थागत कमजोरीको संकेत हो। देउवाले कार्यतालिका कडाइका साथ लागू गर्ने चेतावनी दिएका छन्, तर विगतमा यस्तो प्रयास कति सफल भयो ? यसबारे गम्भीर प्रश्न छन्।
बैठकमा सरकारले विकास, सुशासन र विपद् व्यवस्थापनमा चासो नदिएको भन्दै आलोचना गरियो। बाढी, पहिरो, ऊखु किसान, शिक्षा सुधार र चिकित्सक आन्दोलनजस्ता विषयमा सशक्त नीति लिने माग उठाइयो। सभापति देउवाले नेता गोविन्दप्रसाद कँडेलको निधनमा श्रद्धाञ्जली दिँदै “अब कांग्रेसमा त्यागी र निष्ठावान नेता पाउन मुस्किल भएको” टिप्पणी गरे। यो भनाइ कांग्रेस नेतृत्वको गम्भीर आत्मस्वीकृतिको संकेत हो। नेतृत्वको रिक्तता, समर्पणको अभाव र अवसरवादले कांग्रेसको जरा कमजोर पार्दैछ भन्ने संकेत आफैँ सभापतिको मुखबाट आउनुले पार्टीभित्रको वास्तविक संकट देखाउँछ। कांग्रेस नेतृत्वले यो पटक केही ठोस निर्णय गरेको देखिन्छ—अनुशासन कडाइ, संगठन पुनर्गठन, नीति संशोधन र सरकारप्रतिको स्पष्ट अपेक्षा।




