काठमाडौं । बीमा प्राधिकरणमा नेतृत्व परिवर्तन भएको छ। अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि सहसचिव सेवन्तक पोखरेललाई नयाँ जिम्मेवारी दिइएको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझामाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए। प्राधिकरणको अध्यक्ष पद रिक्त भएपछि अर्थ मन्त्रालयले पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मा दिएको हो।
पोखरेल हाल वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुखका रूपमा कार्यरत छन्। सोही महाशाखाले बीमा प्राधिकरणसँग समन्वय गर्ने भएकाले उनीलाई जिम्मेवारी दिन सहज भएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्रीले मन्त्रिपरिषद् निर्णयपछि साँझ नै पोखरेललाई जिम्मेवारी दिने निर्णय गरेका थिए। शरद ओझामाथि गम्भीर आरोप लागेपछि छानबिन अघि बढाइएको हो। अब नयाँ नेतृत्वले प्राधिकरणको नियमित कार्यसम्पादन मात्र होइन, संस्थागत विश्वास पुनःस्थापनाको चुनौती पनि सामना गर्नुपर्नेछ।




