राजनीति

प्रधानमन्त्रीले बोलाए सभापति देउवा र अध्यक्ष यादबलाई बालुवाटार

काठमाडौं । सङ्घीय सरकारमा फैलिएको अडियो काण्ड र सत्तारुढ गठबन्धनमा देखिएको अस्थिरताबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बालुवाटारमा संयुक्त छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार बैठक सोमबार साँझ ७ बजे प्रधानमन्त्री निवासमा तय गरिएको छ। “मन्त्रिपरिषद्को बैठकपछि समसामयिक विषयमा तीन नेताबीच संयुक्त छलफल हुनेछ,” उनले जानकारी दिए।

हालै सार्वजनिक भएको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग जोडिएको अडियो काण्ड बैठकको प्रमुख एजेन्डा हुनेछ। उक्त प्रकरणले सरकारको साखमाथि गम्भीर प्रश्न उठाएको छ। भ्रष्टाचारसम्बन्धी सार्वजनिक अडियोले गठबन्धन सरकारको नैतिकतामा धक्का पुर्‍याएको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्री ओलीले संकट व्यवस्थापनका लागि शीर्ष नेताहरूलाई छलफलमा डाकेका हुन्।

सत्ता समीकरणमा थप अस्थिरता ल्याउने संकेतका रूपमा जनता समाजवादी पार्टीले समर्थन फिर्ता गर्ने चेतावनी दिइरहेको छ भने नागरिक उन्मुक्ति पार्टीले त पहिले नै समर्थन फिर्ता लिएर संसद सचिवालयमा पत्रसमेत दर्ता गराइसकेको छ। प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले जसपालाई सरकारमा समेटिराख्न रणनीतिक प्रयास थालेका छन्। स्रोतका अनुसार, ओली–देउवा दुवैले यादव नेतृत्वको जसपालाई फकाएर गठबन्धनको बहुमत सुरक्षित राख्ने योजना बनाइरहेका छन्।

बैठकमा सरकारको एक वर्षे कार्यकालको समग्र मूल्याङ्कन र आगामी योजना पनि प्रस्तुत गरिने छ। भ्रष्टाचार, सुशासन र जनताको असन्तुष्टि जस्ता मुद्दालाई कसरी सम्बोधन गर्ने भन्नेमा तीन शीर्ष नेताबीच गम्भीर छलफल हुने बताइएको छ।

प्रधानमन्त्री ओली, देउवा र यादवबीचको यो बैठक सत्ताको समिकरण बचाउन, विश्वास गुमाउँदै गएको सरकारको साख जोगाउन र आगामी रणनीतिक दिशा तय गर्न निर्णायक बन्ने अनुमान गरिँदैछ। मन्त्रीहरूको अडियो प्रकरण र घट्दो समर्थनबीच सत्ता टिकाउन गठबन्धनभित्रको यो समन्वय प्रयास ओली सरकारका लागि ठूलो परीक्षा बन्ने देखिएको छ।

 

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *