काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि तीव्र प्रहार गर्दै पार्टीलाई पानीको फोका को संज्ञा दिएका छन्। उनले प्रचारमुखी शैली र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाउने प्रवृत्तिलाई अस्वीकार्य बताउँदै रास्वपालाई आफ्ना दाग पहिला सफा गर्न चेतावनी दिएका हुन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै बजगाईंले रास्वपाको गतिविधि प्रचारबाजीमा केन्द्रित भएको उल्लेख गर्दै भने, “तिमीहरू एक फोका मात्रै हौ। ऐतिहासिक लोकतान्त्रिक आन्दोलनमा योगदान दिने नेताहरूको छवि धूमिल पार्ने प्रयास नगर। पहिले आफ्ना गल्ती र बेथिति सुधार।”
उनले रास्वपालाई अदालतको आदेशको अवज्ञा गर्दै सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान चलाएको विषयमा पनि कडा आपत्ति जनाए। “प्राकृतिक विपत्तिको बेला देश एकजुट हुनुपर्नेमा, तपाईंहरू अदालतकै आदेशको उपहास गर्दै हस्ताक्षर संकलन गर्दै हुनुहुन्छ,” बजगाईंले भने।
सांसद बजगाईंले शालिकराम पुडासैनी र शम्भु थापाको मृत्यु घटनालाई रहस्यमय भन्दै ती घटनाहरू अझै स्पष्ट नभएको दाबी गरे। उनले थपे, “यी घटनाको निरूपण अझै भएको छैन। यस्तो बेलामा कानुनी शासनको पाठ पढाउनु नै उपहास हो।”
उनले रास्वपालाई चुनौती दिँदै भने, “हामीले आफ्नै पार्टीभित्र भ्रष्टाचारविरुद्ध आवाज उठाउँछौं। तपाईंहरूले आफ्ना घोटालेबाजहरूलाई कहिल्यै प्रश्न गर्न सक्नुभएको छ?”
कांग्रेसमाथि बारम्बार आक्रमण गर्न खोजेको रास्वपाको प्रवृत्तिलाई ूगैरप्रजातान्त्रिकू भन्दै उनले आलोचना गर्दै भने, “हद नाघ्नुभएको छ। यसैकारण तपाईंहरूको प्रवृत्ति प्रतिगामी देखिन्छ।”
सांसद बजगाईंको भाषणमा स्पष्ट रुपमा रास्वपाको राजनीतिक कार्यशैली, नेतृत्वको नैतिकता र लोकतान्त्रिक मूल्यप्रतिको दृष्टिकोणमाथि प्रश्न उठाइएको छ। संसदमा उनको चेतावनीले सत्तारूढ दल र प्रतिपक्षबीचको बहसलाई अझ चर्काउन सक्ने देखिन्छ।




