राजनीति

भिजिट भिसा प्रकरणमा संसदमा रास्वपा–राप्रपाको कडा विरोध, लिङ्देनले उठाए सभामुखको भूमिकामाथि प्रश्न

काठमाडौं । भिजिट भिसाको नाममा भएको विवादास्पद स्पेन भ्रमण प्रकरण संसदको बुधबारको बैठकमा तीव्र बहसको विषय बन्यो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बैठक सुरु हुनासाथ विरोध जनाउँदै सभामुख देवराज घिमिरेको भूमिकामाथि गम्भीर प्रश्न उठाए।

सभामुख घिमिरेले बैठक सुरु गर्नेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोधमा उत्रिएका थिए। विरोधपछि सभामुखले रास्वपाका सांसद अशोककुमार चौधरीलाई बोल्न समय दिए भने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सदनमा आक्रोश पोखे।

लिङ्देनले संसदमा डेढ महिनादेखि जारी प्रतिपक्षी दलहरूको विरोधलाई सभामुखले बेवास्ता गरेको भन्दै कडा आलोचना गरे। “यो सरकारको मात्र होइन, सभामुखको कार्यकालकै कालो समय हो,” लिङ्देनले भने, “प्रतिपक्षको आवाजमाथि जबरजस्ती संसद् चलाउने काम गलत छ।” उनले पछिल्ला दिनहरूमा एकपछि अर्को गर्दै मन्त्रीहरू लेनदेन काण्डमा मुछिरहँदा प्रधानमन्त्रीको सुशासन आयोग मौन बसेको भन्दै प्रश्नसमेत उठाए। “यदि सरकार सुशासनमा गम्भीर हो भने ती मन्त्रीलाई बर्खास्त गर्न किन हिचकिचाइरहेको छरु” उनले जिज्ञासा राखे।

यसैबीच, गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन्। गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई दिइएको निर्देशनअनुसार, कसले कसको सहयोगमा भिजिट भिसा प्राप्त गर्‍यो भन्नेबारे अनुसन्धान हुनेछ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरोले गहन छानबिन गर्नेछ। मन्त्री लेखकले दोषी भेटिए कडा कारबाही हुने चेतावनीसमेत दिएका छन्। प्रतिनिधिसभा र सरकार दुबैतर्फ फैलिएको असन्तोष र छानबिनको घेराबन्दीले यो विषय अब झनै तात्ने संकेत देखिएको छ।

 

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *