राजनीति

राप्रपा : पार्टीले कारबाही गरेपछि असन्तुष्ट नेताहरु निर्वाचन आयोगमा,निर्णय फिर्ता हुनुपर्ने मागसहित उजुरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको गहिरिँदो सत्ता संघर्ष अब खुला मैदानमा आइपुगेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको एकलौटी निर्णयका विरुद्ध निष्कासित नेताहरू निर्वाचन आयोगमा गुहार माग्न पुगेका छन्। अनुशासन आयोगका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुनसुन्दर लावतीलाई अध्यक्ष लिङ्देनले पार्टीबाट हटाएपछि पार्टीको आन्तरिक संकट अझै चर्किएको हो। संस्थापन इतर समूहले यसलाई स्वेच्छाचारी र असंवैधानिक कदम भन्दै तीव्र विरोध जनाएको छ।

लिङ्देनले सुवेदीलाई राजसंस्थाको समर्थनमा चैतमा पार्टी परित्याग गरेको भन्दै निष्कासन गरेका थिए। तर सुवेदीले आफैंलाई हटाइएको अस्वीकार गर्दै अझै पनि पार्टीभित्र सक्रिय दाबी गर्दैछन्। लौरो टेकेर निर्वाचन आयोग पुगेका सुवेदीलाई धवलशमशेर राणा लगायत संस्थापन इतर नेताहरूको बलियो समर्थन छ।

धवल राणाको संयोजकत्वमा बसेको भेलाले यो कदम पार्टी विधानको खुला उल्लंघन भएको ठहर गर्दै निर्वाचन आयोगमा औपचारिक चुनौती दिने निर्णय गरेको छ। भेलामा डा। प्रकाशचन्द्र लोहनीदेखि विक्रम पाण्डेसम्मका वरिष्ठ नेताहरू सहभागी थिए, जसले यो विवाद नेतृत्वको शैलीप्रति गम्भीर असन्तुष्टि झल्काउँछ।

राप्रपा नेतृत्व अहिले आन्तरिक लोकतन्त्रको संकटमा फसेको देखिन्छ। लिङ्देनको निर्णयले उनी स्वेच्छाचारिता र असहिष्णुताको बाटोमा हिँड्न थालेको आरोप बलियो हुँदै गएको छ। अब आयोगको निर्णयले मात्र यो द्वन्द्वको दिशा तय गर्नेछ। निर्वाचन आयोगमा पुगेर सुवेदी लगायतका नेताहरुलेले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई विधान विपरीत अनुशासन समिति अध्यक्ष पदबाट हटाएको भन्दै उक्त निर्णय बदरको माग गर्दै आयोगमा उजुरी दिएका छन् । आइतबार आयोग पुगेर उनले ७ बुँदे उजुरी दिएका हुन् ।

आयोगमा बुझाइएको उजुरीमा ‘म निवेदक पार्टीको अनुशासन समितिको वैधानिक अध्यक्ष रहेको, विधानले तोकेको पदावधि र कार्यकाल बाँकी नै रहेको र म स्वयंले पार्टीको विधान विपरीतको कुनै कार्य नगरी पार्टीको वरिष्ठ नेता एवं केन्द्रीय सदस्यको पदमा यथावत् नै रहेको र केन्द्रीय सदस्यको हैसियतबाटै अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त भई विधान अनुसारको पदीय जिम्मेवारी निर्वाह गरी आएको अवस्था हुँदा मलाई अनुशासन समितिको अध्यक्षबाट हटाउने, मेरो स्थानमा अर्को व्यक्तिलाई तोक्ने समेतका काम कारबाही निर्णय पार्टीको विधान विपरीत रहेकोले यस सम्बन्धमा पार्टीका अध्यक्षज्यूबाट तत्काल लिखित प्रतिक्रिया लिई विधान विपरीत हटाउने र पदपूर्ति गर्ने लगायतका काम कारबाही बदर गरी अनुशासन समितिको अध्यक्ष पदमा यथावत् बहाली हुने गरी उपयुक्त निर्णय एवं निर्देशन जारी गरी पाउन सादर अनुरोध गर्दछु ,’ असार २५ गते लिङ्देनले सुवेदीलाई हटाएर उपाध्यक्ष रोशन कार्कीलाई सो पदमा नियुक्त गरेका थिए । त्यससँगै राप्रपाभित्र विवाद थप चुलिएको छ ।

raprapa

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *