काठमाडौं । नेपाली कांग्रेसले पार्टी अनुशासन उल्लंघनका घटनालाई लिएर कडा कदम चालेको छ। पछिल्ला निर्वाचनमा पार्टी वा पार्टीद्वारा समर्थन प्राप्त उम्मेदवारलाई असहयोग गरेको आरोपमा २६ जना नेता–कार्यकर्तालाई सचेत गराउँदै पार्टी हितविपरीतका गतिविधि नदोहोर्याउन निर्देशन दिएको हो।
अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाका अनुसार, दाङ, डोल्पा, सल्यान, दैलेख, खोटाङ र धनुषाका नेताहरू समेटिएका छन्। तीमध्ये केही उम्मेदवारका रूपमा चुनाव लडेका थिए भने अन्यले विद्रोही उम्मेदवारको प्रस्तावक वा समर्थकको भूमिका खेलेका थिए।
पार्टीले यसपटक कारबाहीका साथै चेतावनी मात्र दिए पनि अनुशासन पालना नगरे कडाभन्दा कडा कदम चालिने संकेत दिएको छ।
यता, कारबाहीमा परेका नेताहरूबाट फुकुवा माग गर्दै व्यापक संख्यामा पुनरावेदन पनि आएका छन्। अनुशासन समितिका अनुसार कोशी प्रदेशबाट १७, मधेशबाट २३, बागमतीबाट ४, गण्डकी र लुम्बिनीबाट ३–३, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट १ जना गरी ८८ जनाले पुनरावलोकनका लागि निवेदन दिएका छन्।
कांग्रेसको यो कदमले पार्टीभित्रको अनुशासनलाई बलियो बनाउने र गुट–उपगुटको प्रभाव रोक्ने संकेत गरेको विश्लेषकहरूको बुझाइ छ।




