अर्थ

बजेटमा ढिलाइः  मेयर बालेनको निष्क्रियताप्रति समिति असन्तुष्ट, मध्यरातमा अनौपचारिक बैठक

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाको बजेट तयारीमा ढिलाइ भएपछि बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र शाह (बालेन) प्रति असन्तुष्टि जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको छ। निर्धारित समयसीमा नजिकिँदै जाँदा पनि मेयरले नेतृत्वदायी पहल नगरेको आरोप समितिले लगाएको हो। मंगलबार राति अनौपचारिक रूपमा बसेको समितिको बैठकले कानुनी रूपमा असार १० भित्र नगरसभामा बजेट पेस गर्नुपर्ने स्पष्ट व्यवस्था भए पनि समयमै बजेटको प्रक्रिया अघि नबढेको भन्दै चिन्ता व्यक्त गरेको छ। समितिका प्रवक्ता नवीन मानन्धरले मेयरको समन्वय अभावकै कारण बजेट अहिलेसम्म नआएको दाबी गरे।

 

बैठकले मेयर शाह नेतृत्वमा रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले वैशाख १० भित्र काम सम्पन्न गर्नुपर्ने कानुनी प्रावधानसमेत पालना नभएको टिप्पणी गरेको छ। यस ढिलाइका कारण कर्मचारीको पारिश्रमिक, वृद्ध भत्ता, विकास निर्माण तथा फोहोर व्यवस्थापनलगायत महानगरका नियमित कार्यमा साउन १ गतेपछि प्रत्यक्ष असर पर्ने खतरा देखिएको छ।

बुधबार समितिले मेयर शाहलाई औपचारिकरूपमा पत्र पठाएर बजेट प्रक्रियामा गम्भीर भएर अगाडि बढ्न आग्रह गरिसकेको छ। स्थानीय सरकार सञ्चालन ऐनको म्याद नाघिसकेको भन्दै समितिले थप ढिलाइ नगरिई कार्य अघि बढाउन दबाब दिएको छ।

मध्यरातमा बनेको सहमति यस्तो छ :

बजेट तर्जुमा समितिको संयोजक उपप्रमुख डंगोल छिन् । सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईँ, सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धर, रावश्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक ईश्वरमान डंगोल, सुशासन समितिका संयोजक ख्याम तिवारी, सामाजिक समितिका संयोजक रामकुमार केसी, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, भवन व्यवस्थापन समितिका संयोजक हिरालाल तण्डुकार, शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, कृषि तथा पशुपंक्षी तथा सहकारी व्यवस्थापन समितिका संयाजक रामजी भण्डारी, विपद् समितिका संयोजक प्रेम थापा र सुमित्रा लामिछाने सदस्य सचिव छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *