देश

बिचौलिया भट्टको छायाँ शासन: सरकार निरीह, नियामक कब्जामा

काठमाडौँ। नेपालको राज्य संयन्त्र कसरी एक जना बिचौलियाको अगाडि निरीह बन्न पुगेको छ भन्ने डरलाग्दो उदाहरण फेरि एक पटक सार्वजनिक भएको छ— नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रियामा। यस प्रकरणमा मुख्य भूमिकामा दीपक भट्ट देखिएका छन्, जो हाइड्रोपावर माफियादेखि बिमा, धितोपत्र, राष्ट्र बैङ्क र प्रहरी सङ्गठनसम्म आफ्नो गम्भीर प्रभाव फैलाउँदै आएको आरोप लागेका एक शक्तिशाली बिचौलिया हुन्।

सरकारलाई पासोमा पार्ने ‘स्टक एक्सचेञ्ज रणनीति’

नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा हालको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पर्याप्त मानिएको बेलामा नयाँ एक्सचेञ्जको आवश्यकतामाथि नै प्रश्न उठिरहेको थियो। यसै विवादलाई सल्टाउन सरकारले अध्ययन समिति गठन गर्योा। तर, यो समिति गठन प्रक्रियामै भट्टले आफू अनुकूलका व्यक्तिहरू राख्न सफल भएका थिए ।

राष्ट्र बैङ्कका पूर्व-सञ्चालक चिन्तामणि सिवाकोटीको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिमा भट्टले आफ्नै इन्फिनिटी होल्डिङ्ससँग सम्बन्धित चार्टर्ड एकाउन्टेन्ट सुजन आचार्यलाई सदस्य बनाएको खुलासा भएको छ। यस समितिको प्रतिवेदनले ‘निजी क्षेत्रको लगानीमा थप स्टक एक्सचेञ्ज आवश्यक छ’ भन्ने निष्कर्ष निकालेपछि भट्टको हिमालयन स्टक एक्सचेन्जलाई लाइसेन्स दिने बाटो खुला भएको विश्लेषण गरिएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ पनि भट्टकै नजिकका व्यक्ति मानिन्छन्। हिमालयनसँगै, नेशनल र अन्नपूर्ण स्टक एक्सचेञ्जले पनि सेबोनमा लाइसेन्सको निवेदन दिएका छन्। तर, सरकारी अध्ययन समितिको प्रतिवेदनले सिधै हिमालयनलाई फाइदा हुने खालको निष्कर्ष दिएकाले यस प्रकरणमा भट्टकै पोल्टामा फैसला गएको देखिन्छ।

मोटरसाइकल शोरूमदेखि राष्ट्र बैङ्कसम्मको यात्रा: शक्तिको अदृश्य जालो

करिब ५५/५६ सालतिर सामान्य मोटरसाइकल शोरूम सञ्चालन गर्दै व्यावसायिक यात्रा थालेका दीपक भट्टले छोटो समयमै आफ्नो प्रभाव र सञ्जाललाई डरलाग्दो रूपमा विस्तार गरेका छन्। त्रिशूली थ्री ए जलविद्युत आयोजनामा आफू अनुकूल काम नगरेको भन्दै बिधुत प्राधिकरण का दर्जनै कर्मचारीलाई अख्तियार लगाएर भ्रष्टाचारको मुद्दा लगाउन भट्ट सफल भरका थिए । त्यसयता हाइड्रोपावर क्षेत्रमा प्रभाव जमाउँदै आएका भट्टले पछिल्लो समय बिमा क्षेत्रमा समेत एकछत्र शासन चलाएको स्रोतको दाबी छ।

शक्ति केन्द्रहरूसँग नजिकिँदै— प्रधानमन्त्री केपी शर्मा ओली देखि पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, शेरबहादुर देउवा सम्मको ‘बेड रुम मा पुग्ने हैसियत भट्ट ले बनाएका छन् ।स्रोतका अनुसार भट्टले शक्तिको दुरुपयोग गर्दै गुणाकर भट्ट राष्ट्र बैङ्कको गभर्नर बन्न रोक्न सफल भए ।

वित्तीय क्षेत्रबाट प्रहरी सङ्गठनसम्म ‘अदृश्य हात’

दीपक भट्टको खेल केवल वित्तीय क्षेत्रमै सीमित छैन। उनको प्रभाव प्रहरी सङ्गठनसम्म फैलिएको गम्भीर आरोप लागेको छ। प्रहरीको हातहतियार खरिद प्रक्रियामा समेत उनीसँग सम्बन्धित कम्पनीहरूको संलग्नता रहेको प्रमाणहरू सार्वजनिक भइसकेका छन्। यसले राज्यका संवेदनशील सुरक्षा निकायहरूमा समेत उनको पहुँच रहेको पुष्टि गर्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *