राजनीति

भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन, मेरो विनाप्रमाण चरित्र हत्या गरियो : गृहमन्त्री लेखक

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा बोलेका छन्। शुक्रबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी )राप्रपा) का सांसदहरू टेबल ठोक्दै विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले मन्त्री लेखकलाई जवाफ दिने समय दिए।

गृहमन्त्री लेखकले आफूमाथि भिजिट भिसा प्रकरणमा षड्यन्त्रपूर्वक आरोप लगाइएको बताए । उनले भने, “म माथि राजनीतिक जीवन नै समाप्त पार्ने नियतसाथ चरित्र हत्या गर्न खोजिएको छ।”

‘२०६४ सालदेखि नै भिजिट भिसा प्रणाली थियो’ गृहमन्त्री लेखकले भिजिट भिसा प्रणाली २०६४ सालदेखि नै अस्तित्वमा रहेको स्मरण गराउँदै यो आफू मन्त्री बनेपछि सुरु भएको प्रक्रिया होइन भन्ने तर्क राखे। उनले प्रतिपक्षलाई लक्षित गर्दै विगतका घोटालामा संलग्न रहेका नेताहरू छानबिन नगरिएकाे तर  आफूमाथि टार्गेट गरेर आरोप लगाएको बताए  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहँदा आफूलाई मात्र टार्गेट गरेर बदनाम गर्न खोजिएकोमा लेखकले आपत्ति जनाए। “यसअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सबैभन्दा धेरै नागरिकहरू भिजिट भिसामा विदेश गएका थिए,” उनले भने।

गृहमन्त्री लेखकले जीवनभर अपराध कर्मलाई तिरस्कार गरेको मान्छेको चरित्र हत्या गर्ने उद्देश्यले भिजिट भिसाको नाममा आरोपित गर्ने काम भएको दाबी गरे । प्रतिनिधिसभाको बैठकमा बोल्दै भिजिट भिसा अख्तियारको अनुसन्धानसमेत प्रभावित हुने खालको गतिविधि विपक्षी पार्टीहरुले गरिरहेको भन्दै अनुसन्धानलाई निष्पक्ष छानबिनका लागि सहयोग गर्न सबैलाई आग्रह गरे । रास्वपा र राप्रपाले भिजिट भिषा प्रकरणमा अनुसन्धान गर्ने संवैधानिक निकायलाई प्रभाव पार्न विभिन्न आरोप प्रत्यारोप गरेको भन्दै आपत्रि जनाए । उनले गलत सूचनाका आधारमा राजनीतिक व्यक्तिको जीवन सक्काउने खेलमा नलाग्न पनि अनुरोध गरे ।

यस्तै मन्त्री लेखकले आफ्नो राजनीतिक जीवन र व्यक्तिगत चरित्र हत्या गर्ने उदेश्यबाहेक कुनै अर्को धेय नरहेको उल्लेख गर्दै भिजिट भिसाको नाममा हुने तस्करीमा जोडिएका सबैमाथि अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाए । भिजिट भिसामा मात्रै होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीआईजी सरुवामा पनि प्रश्न उठाउनु खेदजनक हो, उनले भने, ‘‘अख्तियारमा प्रहरीको एकजना डीआईजी हुन्छ । अर्का एक एसएसपी बढुवा भएर डीआईजी भए । एकजनाको सरुवा भयो । यसैलाई पनि अनुसन्धान प्रभावित भयो भनेर अनावश्यक आरोप लगाइयो ।’’ आफूमाथि अनावश्यक आरोप लगाउन विभिन्न दलका पार्टी कार्यालय प्रयोग भएको दाबी गरे । किर्ते उजुरी र नक्कली पीडित खडा गर्नेहरूलाई पनि कारबाही गरिने गृहमन्त्री लेखकले प्रतिवद्धता जनाएका छन् ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *